भक्तपुरको बालकोट–२ का एमाले नेता कार्यकर्ताले पार्टी छाडेका छन् । भृकुटीमण्डपमा पार्टीको ११ महाधिवेशनले नयाँ नेतृत्व चयन गरिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीको पहिलेको बसोबास क्षेत्रका एमाले नेता तथा कार्यकर्ताको पार्टी छोड्ने क्रम बढेको छ ।
एमाले छाडेर उनीहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । पार्टी छाड्नेमा एमाले बालकोटका वडा २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. डिके रोसन तथा एमाले सूर्यविनायकका नेता–कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइकृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, ध्रुर्व केसी, रुकुश वेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछानेलगायत छन्।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज परिवर्तन र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुन आएकोमा नव प्रवेशीलाई प्रचण्डले बधाई दिए ।
पार्टीमा सहभागी भएका नेताले नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रकाशित: २ पुस २०८२ १५:०९ बुधबार





