जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले संशोधन नगरी राष्ट्रिय समस्याको समाधान हुन नसक्ने बताएका छन्।
पार्टीले विभिन्न माग र मुद्दा अंकित प्लेड कार्डसहित देशव्यापी धर्ना, र्याली र विरोध सभा गरिरहेको सन्दर्भमा बोल्दै बस्नेतले राष्ट्रिय समस्याको समाधानका लागि संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने धारणा राखेका हुन्।
बस्नेतले भने, ‘पार्टीले उठाउँदै आएका २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू सम्बोधन गर्न संविधान संशोधन पहिलो सर्त हो। संविधान संशोधन नगरी मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिदैन भन्ने कुरा आजसम्मका हाम्रो अनुभव र अभ्यासले देखाइसकेको छ।’
बस्नेतले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली नभएसम्म मुलुकमा राजनीतिक स्थायित्व नहुने बताउँछन्। उनले भने, ‘शासकीय स्वरुप, निर्वाचन क्षेत्रको पुनर्निधारण, प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाउने तथा निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन वा पुनर्लेखनबाट मात्र सम्भव छ।’
प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न संविधान संशोधन गर्न सबै राजनीतिक शक्ति एकमत हुनुपर्ने उनको टिप्पणी छ।
संविधान संशोधन गरी राष्ट्रिय समस्या समाधान नगरेकै कारण मुलुकमा राजावादीलगायतका प्रतिगमनकारी शक्ति सलबलाएको उनको धारणा छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, समावेशी लोकतन्त्र र सामाजिक न्यालाई कार्यान्वयनलगायतका कार्य गर्नका लागि आवश्यक कानुनको निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित: २३ मंसिर २०८२ ०९:१० मंगलबार





