१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कार्की प्रधानमन्त्री बन्दा मोदी उत्साहित: बोलेन चीन, अन्य देशले के भने ?

नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्साहित देखिँदा उत्तरी छिमेक चीनबाट कुनै प्रतिक्रिया आएको छैन। शुक्रबार राति कार्की प्रधानमन्त्री नियुक्त भएकी थिएन। 

लगत्तै शनिबार बिहानै भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत नेपाली, हिन्दी र अंग्रेजी गरी तीन भाषामा कार्कीलाई बधाई दिएका छन्। ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्की ज्यूलाई हार्दिक शुभकामना,’ मोदीले लेखेका छन्, ‘नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’ 

मोदी त्यत्तिमै रोकिएनन्, भारतको पूर्वी प्रान्त मणिपुरमा आयोजित एक भाषणमा कार्की प्रधानमन्त्री भएकामा उत्साहित हुँदै प्रतिक्रिया दिएका छन्। ‘अन्तरिम सरकारको प्रधानमन्त्री पद सम्हालेकोमा १४० करोड भारतीयका तर्फबाट श्रीमती सुशीला जीलाई हार्दिक बधाई दिन्छु,’ मोदीले भाषणमा भनेका छन्, ‘मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नेछन्।’  नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्की आउनु महिला सशक्तीकरणको उत्तम उदाहरण रहेको पनि मोदीले बताएका छन्। ‘म नेपालका हरेक व्यक्तिको सराहना गर्छु, यस्तो अस्थिरताको माहौलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखे,’ मोदीले भनेका छन्। 

यस्तै शनिवारै बाङ्लादेश सरकारमा प्रमुख सल्लाहकार मोहम्मद युनुसले पनि प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन्। ‘बाङ्लादेश सरकार, बाङ्लादेशका जनता र आफ्नै तर्फबाट म नेपालका प्रधानमन्त्रीको रूपमा तपाईँको नियुक्तिमा हार्दिक बधाई ज्ञापन गर्दछु,’ युनुसले भनेका छन्, ‘यो उच्च पदमा तपाईँको नियुक्ति, विशेष र चुनौतीपूर्ण समयमा, नेपाली जनताले तपाईँप्रति राखेको विश्वास र भरोसाको प्रतिविम्ब हो।’ 

बाङ्लादेश र नेपाल लामो समयदेखिका मित्र तथा छिमेकी राष्ट्र भएका नाताले आफूलाई कार्कीको सक्षम नेतृत्व र मार्गदर्शनमा नेपाल र नेपाली जनताले शान्ति, विकास र स्थिरताको मार्गमा प्रगति जारी राख्ने आशा व्यक्त गरेका छन्। 

‘हाम्रो दुई देशबिच विद्यमान गहिरो मित्रता, सहयोग र आपसी सम्मानका सम्बन्धलाई अझ सुदृढ पार्न चाहन्छु,’ युनुसले लेखेका छन्। यस्तै उनले नेपालमा हालै भएका राजनीतिक घटनाक्रमका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दै पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्। 

यस्तै श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले पनि एक्समार्फत बधाई तथा शुभकामना व्यक्त गर्दै कार्कीको नेतृत्वमा नेपाललाई स्थायी शान्ति र लोकतन्त्रतर्फ सहज पुनरागमन गराउने विश्वास व्यक्त गरेका छन्। 

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ शुक्रबार साँझ एक्समार्फत नै नेपाली समकक्षी कार्कीलाई बधाई दिएका छन्। ‘पाकिस्तान–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन उहाँसँग सहकार्य गर्ने आशा राख्छु,’ शरीफले लेखेका छन्, ‘साथै नेपालका जनतालाई शान्तिपूर्ण र समृद्ध भविष्यको शुभकामना व्यक्त गर्दछु।’ 

यसअघि शनिबार नै नेपालस्थित ब्रिटिस दूतावासले प्रधानमन्त्री कार्कीलाई एक्समार्फत नै बधाई दिएको थियो। ‘माननीय पूर्व प्रधानन्यायाधीश सुशीला कार्की  आज अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ,’ ब्रिटिस दूतावासले भनेको छ, ‘गत हप्ताका घटनाहरू–जसमा दुःखद ज्यानको क्षति, घाइते र सम्पत्तिको क्षति भएको थियो–पछि यो एक महत्त्वपूर्ण कदम हो।’ 

नेपालको सबैभन्दा पुरानो मित्रका नाताले बेलायतले आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जबाफदेहिता र समावेशी शासन प्रणालीप्रतिको नेपाली आकांक्षालाई समर्थन गर्ने प्रतिबद्धतालाई दोहो¥याएको छ। 

यस्तै युरोपियन युनियनकी परराष्ट्र तथा सुरक्षा नीतिका सर्वोच्च प्रतिनिधि एवं युरोपेली आयोगकी उपाध्यक्ष काया कल्लासले पनि शनिबार एक्समार्फत कार्कीको नियुक्तिलाई स्वागत गरेकी छन्। 

‘म नेपालका अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई स्वागत गर्दछु,’ उनले भनेकी छन्, ‘देशको दीर्घकालीन साझेदारका रूपमा हामी नेपाली जनता र लोकतन्त्र, स्थिरता र मेलमिलाप सुनिश्चित गर्ने सबै प्रयासलाई समर्थन गर्दछौँ।’ 

यस्तै नेपालस्थित जापानी दूतावासले पनि शुक्रबार फेसबुकमार्फत नै प्रधानमन्त्री कार्कीको नियुक्तिलाई स्वागत गरेको छ। 

‘जापान सरकार नेपालमा सकेसम्म चाँडो शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमण सम्पन्न हुने दृढ आशा राख्छ,’ दूतावासले भनेको छ, ‘नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा सम्माननीय श्रीमती सुशीला कार्कीको नियुक्तिलाई स्वागत गर्दछौँ, जुन यस्तो संक्रमणकालको एउटा महत्त्वपूर्ण कदम हो।’ 

यस्तै जापान र नेपाल बिच लामो समयदेखिको सौहार्दपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन जापान सरकारले नेपालको विकास र समृद्धिको लागि आफ्नो समर्थन जारी राख्ने वाचा गरेको छ। 

कार्की प्रधानमन्त्री नियुक्त भएको २४ घण्टा बित्नै लाग्दा हालसम्म चीनको प्रतिक्रिया भने आएको छैन। 

प्रकाशित: २८ भाद्र २०८२ १९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App