१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसमा मध्यमार्गी प्रयास

नेपाली कांग्रेसको १५औं महाधिवेशनको मितिलाई लिएर पार्टीभित्र तीव्र विवाद भइरहेका बेला जारी केन्द्रीय समितिको बैठकले बिचको बाटो खोज्ने भएको छ। पार्टी संस्थापन पक्षले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको भन्दै आगामी वैशाखमा मात्र महाधिवेशन गर्नेुपर्ने जनाएको छ। सोहीअनुसार सहमहामन्त्री महेन्द्र यादवले वैशाख अन्तिम साता महाधिवेशन गर्ने गरी बैठकमा कार्यतालिका पनि पेस गरेका छन् । पार्टी नेता शेखर कोइरालासहितका नेताहरू सकेसम्म निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने कोइरालासहितका नेताहरूको बुझाइ छ। महामन्त्री गगनकुमार थापा मंसिरमा नियमित महाधिवेशन नभ्याइने जनाउँदै विशेष महाधिवेशनको पक्षमा उभिँदै आएका थिए। उनकै अगुवाइमा विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको छ तर महामन्त्री थापाले नै पार्टी केन्द्रीय समितिको जारी बैठकमा पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेका छन्। आफ्नै अगुवाइमा विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरविपरीत थापाले कार्यतालिका पेस गरेका हुन्। पार्टीका नेताहरू आआफ्नो अडान र तर्कसहित केन्द्रीय समिति बैठकमा प्रस्तुत भइरहेका छन्।

महाधिवेशनका मितिमा एक महिनादेखि अल्झेको कांग्रेस केन्द्रीय समितिको जारी बैठकले तीनै पक्षको सम्मान कायम हुने गरी निर्णय लिने निकट स्रोतको दाबी छ। कांग्रेसले क्रियाशील सदस्यता सर्वसम्मतिले टुंगो लगाएर महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने गरी गृहकार्य भइरहेको निकटहरूको दाबी छ।

फागुन २१ गते निर्वाचन हुने भए एउटा र नहुने भए अर्को गरी कार्यतालिका ल्याएर समझदारीमा पुग्ने नेताहरूको तयारी छ। निकट स्रोतका अनुसार फागुन २१ गतेको निर्वाचनअघि नै महाधिवेशनको कार्यतालिका आउने जनाउँदै स्रोतले भन्यो, ‘विशेष महाधिवेशन पक्षधरलाई नियमित महाधिवेशनको कार्यतालिका आयो भनेर मनाउने काम हुन्छ।’

नियमित महाधिवेशनको वकालत गर्नेलाई कार्यतालिकाले फेससेभिङ हुने जनाउँदै कांग्रेस स्रोतले थप्यो, ‘सर्वसम्मतिबाट सदस्यताको विवाद टुंगो नलाग्दा महाधिवेशन तोकिएको अवस्थामा हुने कुरै भएन। एक वर्ष कार्यकाल थपिएको कार्यसमितिले संशोधित कार्यतालिका ल्याएर वैशाख/जेठमा नै महाधिवेशन पुग्न सक्छ।’

बैठकले महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समिति पनि गठन गर्नेछ। महाधिवेशन आयोजक समिति, विधान संशोधन मस्यौदा समितिसहितका समितिहरू गठन गर्नेछ। त्यसले तीनै पक्षले आफूले जितेको ठान्ने नेताहरूको बुझाइ छ।

मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्नेलाई पनि आफ्ना कारणले छिटो महाधिवेशन हुने भयो भन्ने व्याख्या गर्न मिल्नेछ। नियमित महाधिवेशनका पक्षधरलाई पनि कार्यतालिका आयो भन्ने र वैशाख–जेठमा महाधिवेशनको पक्षमा रहेकालाई कार्यकाल थप गर्दै महाधिवेशन सार्न सदस्यतामा खेल्ने ठाउँ रहने भएकाले नेताहरू आआफ्नो अनुकूल व्याख्या गर्न मिल्ने गरी निर्णयको तयारीमा रहेको स्रोतको दाबी छ।

अर्को फागुन २१ गते नै निर्वाचन हुने अवस्थामा वैशाखमा महाधिवेशन गर्ने र निर्वाचन सरे फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी पनि भइरहेको छ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउदले सोही प्रस्ताव राखेका छन्। ‘निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिश्चित भयो भने वैशाख र वैशाखमा निर्वाचन सर्ने भयो भने फागुनमै महाधिवेशन गर्नु उपयुक्त हुन्छ,’ उनले भने।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिने बताएका छन्। पार्टीको ११औंं महाधिवेशन ४० दिनको तयारीमा भएको जनाउँदै केसीले महाधिवेशन गरेर मात्र निर्वाचनमा जानुपर्ने तर्क गरे। केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको सबै निकायमा ३३ प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य शंकर भण्डारीले भने ९४ प्रतिशत ओमकार परिवार रहेको देशमा धर्मनिरपेक्षता नै द्वन्द्वको मुख्य कारण रहेको जनाउँदै कांग्रेस सनातन हिन्दु राष्ट्रसहित निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि जडवादी अडान राखेर नहुने भन्दै भण्डारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पहिले राष्ट्रियता, देशभक्तिको भावनालाई अगाडि सारेर, देशका सबै राजनीतिक दल र शक्तिलाई साथमा लिएर अगाडि बढे मात्र नेपाली कांग्रेसले राजनीतिक निकास दिन सामथ्र्य राख्छ।’

बैठकमा केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मीनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल केसी, रूपा विक, धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले आआफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ।

यसैबिच पार्टीको नियमित महाधिवेशन पक्षधर युवा तथा विद्यार्थीहरूले बिहीबार राजधानीमा भेला आयोजना गरेका छन्। उनीहरूले विशेष महाधिवेशनको कुरा गरेर पार्टीलाई थप कमजोर बनाउने र आफ्नो मात्र स्थान सुरक्षित गर्ने प्रयासमा जिम्मेवार नेताहरू लागिपरेको आरोप लगाए। पार्टीको नियमित महाधिवेशनको विकल्प नभएको जनाउँदै त्यसले मात्र पार्टीमा रूपान्तरण हुने दाबी गरे।

प्रकाशित: २१ कार्तिक २०८२ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App