७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

सञ्चार मन्त्रालयले भन्यो- हचुवामा समाचार प्रकाशन गरे कडा कारबाही गर्छाैं

सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउने व्यक्ति तथा संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै अफवाह फैलाउनेलाई ‘विद्युतीय कारोबार ऐन’ लगायतका सम्बद्ध कानुनबमोजिम कारबाही गर्ने बताएको हो।

पछिल्लो समय सामाजिक सञ्जाल र केही अनलाइन माध्यमबाट कपोलकल्पित सामग्रीहरू सम्प्रेषण भइरहेको भन्दै मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता भ्रामक सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने काम गरिरहेको मन्त्रालयको ठहर छ।

मन्त्रालयले सबै समाचार प्रदायक संस्था र व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका र हचुवाका भरमा कुनै पनि सूचना सम्प्रेषण नगर्न निर्देशन दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यदि आधारहीन, मिथ्या र भ्रामक समाचारहरू प्रकाशन तथा प्रसारण गरिएको पाइएमा त्यस्ता व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ।’

सरकारले आम सर्वसाधारणलाई समेत भ्रामक सूचना फैलाउने क्रियाकलापमा संलग्न नहुन अपिल गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो व्यक्तिगत खातामार्फत कुनै पनि सामग्री सेयर गर्नुअघि त्यसको आधिकारिकता जाँच्न मन्त्रालयले आग्रह गरेको छ।

यदि कसैले समाजमा भ्रम फैलाउने खालका सूचना सम्प्रेषण गरेको फेला परेमा उजुरी दिन सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ। यसका लागि मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमा गएर आफ्नो गुनासो दर्ता गर्न सकिनेछ।

यसका साथै, मन्त्रालयको सूचना अधिकारीलाई फोन नम्बर ०१-४२००४३९, मोबाइल नम्बर ९८५१४००११२ वा मन्त्रालयका आधिकारिक इमेलहरूमार्फत पनि सूचना तथा जानकारी उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित: ९ वैशाख २०८३ २०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App