४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मन्त्री पुनले भने- मसँग पनि छ ‘रोलेक्स’ छ है साथीहरु, लगाएर हिँडेको भए त बर्बादै हुने रहेछ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हालै सामाजिक सञ्जालमा चर्चामा रहेको ‘रोलेक्स घडी’ प्रकरणमा व्यंग्यात्मक टिप्पणी गरेका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लगाएको घडीलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि मन्त्री पुनले आफूसँग पनि ‘रोलेक्स’ घडी भएको भन्दै व्यंग्य गरेका हुन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले आफूलाई ताप्लेजुङका एक वृद्ध दम्पतीले उपहार दिएको घडीको तस्बिर सार्वजनिक गरे।

उनले लेखेका छन्, ‘मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरु। यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङमा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनुभयो।’

उनले आफूलाई ‘भट्भटे मन्त्री’ भन्दै थप लेखेका छन्, ‘मैले लगाएर हिँडेको भएता बर्बादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ।’

उनले तीन वर्षअघि बेलायतमा बस्ने एक साथीले दिएको रोलेक्स घडी फेसबुकमै बेचिदिएको तर यो घडी भने तत्काल नबेच्ने बताएका छन्।

केही दिनअघि सञ्चारमन्त्री जगदीश खरेलले करोडौं मूल्य पर्ने ‘रोलेक्स’ घडी लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।

मन्त्री बनेलगत्तै महँगो घडी लगाएको भन्दै प्रश्न उठेपछि मन्त्री खरेलले उक्त घडी ‘रोलेक्स’ नभई आफ्नो दाइको पुरानो ‘रोस्टर’ ब्रान्डको भएको स्पष्टीकरण दिएका थिए।

यही प्रसंगलाई लिएर मन्त्री पुनले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका हुन्।

प्रकाशित: २ कार्तिक २०८२ १९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App