१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच भेट

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीच शैक्षिक सहकार्य र खेल कूटनीतिका विषयमा छलफल भएको हो। 

भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको थियो। विशेषगरी शिक्षा क्षेत्रमा दुई देशबीच लामो समयदेखि हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ र प्रभावकारी बनाउने विषयमा कुराकानी केन्द्रित रहेको थियो। 

कार्यवाहक राजदूत बोल्डिनले हालै भएको भोटेकोशी बाढी र त्यसबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालको कठिन परिस्थितिमा अमेरिका सधैँ साथमा रहेको बताइन्। उनले नेपालको विकासका लागि अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरिन्। 

मन्त्री पोखरेलले नेपालको समग्र विकास, विशेषगरी शिक्षा क्षेत्रमा अमेरिकाले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताए। अमेरिकी सहयोगले नेपालको मानव संसाधन विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो। 

भेटमा अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा विगतमा विभिन्न कार्यक्रममार्फत सहयोग पुर्‍याउँदै आएको विषयमा पनि छलफल भएको थियो। नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम र नेसनल अर्ली ग्रेड लर्निङ प्रोग्रामजस्ता कार्यक्रममा अमेरिकी सहयोग रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले ती कार्यक्रमले नेपालको आधारभूत शिक्षा सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताए। 

मन्त्री पोखरेलले आगामी दिनमा विद्यार्थी, विश्वविद्यालयका प्राध्यापक तथा प्राज्ञिक जनशक्तिको आदानप्रदान कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे। यस्ता कार्यक्रमले दुई देशबीचको शैक्षिक सहकार्य थप मजबुत बनाउने उनको भनाइ थियो।

अमेरिकी सरकारको सहयोगमा सञ्चालन भइरहेको फुलब्राइट छात्रवृत्तिलगायत विभिन्न कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो। यस्ता शैक्षिक सहकार्यले नेपालको जनशक्ति विकासमा योगदान पुर्‍याउने दुवै पक्षको धारणा थियो। 

भेटमा खेलकुद कूटनीतिका विषयमा समेत छलफल भएको थियो। सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक तथा प्याराओलम्पिक खेललाई लक्षित गर्दै अमेरिकी विशेषज्ञता, तालिम, खेलाडी विकास र खेल व्यवस्थापनसम्बन्धी सीप नेपाली खेलाडी तथा प्रशिक्षकलाई उपलब्ध गराउने सम्भावनाबारे कुराकानी भएको थियो। 

कार्यवाहक राजदूत बोल्डिनले खेलकुद क्षेत्रमा अमेरिकी अनुभव र सीप नेपालका लागि उपयोगी हुन सक्ने बताइन्। मन्त्री पोखरेलले पनि यस क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्न सकिने सम्भावनामा जोड दिए। 

प्रकाशित: १३ कार्तिक २०८३ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App