निर्वाचनको वातावरण बनाउनका लागि सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरूलाई भेटेर निर्वाचनको माहोल बनाउन छलफल गरेका हुन्।
सञ्चारमन्त्री खरेलले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनीहरूकै निवासमा गएर निर्वाचनबारे कुराकानी गरेका हुन्।
तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारेका छन्।
निर्धारित मितिमै प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरूसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको जानकारी दिँदै उनले निर्वाचनको माहोल बनाउन, सर्वदलीय, सर्वपक्षीय र व्यक्तिगत रूपमा पनि सरकारले दलका कार्यालय, नेताका घरदैलोमा गएर निर्वाचनको सुनिश्चितताका लागि पहलकदमी गरिएको उल्लेख गरेका छन्।
सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले पहल गरिरहेको छ। तीन ठुला दलका शीर्ष नेताले भेटको क्रममा निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा छ। त्यसैले फागुन २१ गते निर्वाचन हुन्छ र सबै दल सहभागी हुन्छन्। कांग्रेसको तर्फबाट सभापतिले निर्वाचन प्राथमिकता हो, पुन:स्थापना प्राथमिकता होइन भनेका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजकले निर्वाचनको विकल्पै छैन भनेका छन् र एमाले अध्यक्षले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन्।’
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले स्वयंले पनि राजनीतिक भेटवार्तालाई प्रत्यक्ष र परोक्ष रूपमा अघि बढाइरहेकी जानकारी दिएका छन्। संयोजक दाहालले निर्वाचनको विकल्प नभएको दोहोर्याउँदै तोकिएको मितिमै निर्वाचन हुनुपर्छ भन्नेमा जोड दिएको उनले जानकारी दिएका छन्।
सञ्चारमन्त्री खरेलले भने, ‘सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भयो। त्यस क्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषकाबीच वार्ता भएको छ।’ वर्तमान सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको जनाउँदै उनले सरकारको महत्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन्।
सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने बताउँदै सञ्चारमन्त्री खरेलले वार्ता र छलफललाई लगातार अघि बढाइरहेको स्पष्ट पारेका छन्।
उनले निर्वाचन आयोग, सुरक्षा निकाय र अरू सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भएको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन्।
सञ्चारमन्त्री खरेलले भने, ‘प्रमुख तीन दलका शीर्ष नेताहरूले आफूसँगको भेटमा आफूहरू चुनाव विरोधी होइनौं, चुनाव हुनुपर्छ, चुनाव लोकतन्त्रको पर्याय हो। ताजा जनादेश लिएर जनताबाट अनुमोदित हुने विषय राम्रो र उपयुक्त बाटो हो भनी स्पष्ट धारणा राखेका छन्।’
नेपाली कांग्रेसको तर्फबाट चुनावको विकल्प छैन, प्रतिनिधिसभाको पुन:स्थापना आफ्नो पार्टीको मुद्दा होइन भनी सभापति शेरबहादुर देउवाले स्पष्टसँग राखेको जनाउँदै मन्त्री खरेलले नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पनि निर्वाचनको विकल्प नरहेकाले अबको यात्रा भनेकै चुनाव हो भनी स्पष्ट गरेको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जानुपर्छ तर त्यसका लागि सुरक्षाको वातावरण बनोस् भनी चासो व्यक्त गरेको मन्त्री खरेलको भनाइ थियो। दलहरूबाट व्यक्त भावनाअनुरूप सरकारले चुनावको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमन्त्री खरेलले भने, ‘शीर्ष नेताहरूसँगको भेटबाट आशावादी मात्र होइन, फागुन २१ गते चुनाव हुन्छ। सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन्।’
यसैगरी, निर्वाचनको अन्तिम तयारी र दलहरूबिचको थप समन्वयका लागि प्रधानमन्त्री सुशीला कार्कीले आज (शनिबार) बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्दै छिन्।
प्रकाशित: १२ पुस २०८२ १०:४४ शनिबार





