१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बागमती नदी करिडोरलाई सफा र सुन्दर बनाउन ढल व्यवस्थापनमा मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइका विषयमा जानकारी लिएका छन्।

मन्त्री घिसिङले शनिबार बिहान बागमती नदी करिडोरअन्तर्गत गुहेश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेका छन्।

जम्बुडाँडा क्षेत्रमा ढल जाम हुँदा नदीमा मिसिएको छ। ढल मर्मत हुन नसक्दा त्यस क्षेत्रको सडक पनि बिग्रिएको छ। ढल तथा सडक मर्मतका लागि ठेक्का लगाइएको भए पनि काम सन्तोषजनक छैन। मन्त्री घिसिङले मर्मत कार्यको जानकारी लिँदा एक महिनाभित्र सक्ने गरी जनशक्ति थप गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।

नदी सफा भएमा मात्र शहर सफा हुने भन्दै उनले बागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर हटाउने काम उच्च प्राथमकितामा राखी सोही बमोजिम काम अगाडि बढाइएको बताए। गुहेश्वरी–गोकर्ण खण्डका नदी करिडोरको किनारमा बेवारिसे अवस्थामा रहेका सवारी साधान हटाइएको छ।

नदीमा फालिएको फोहोर र त्यहाँ रहेको लेदो हटाउन सुरु गरिएको छ। सबै फोहोर हटाएर त्यस क्षेत्रमा रहेको चेक बाँधलाई सञ्चालनमा ल्याएर सानासाना तलाउ बनाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी काम भइरहेको मन्त्री घिसिङले उल्लेख गरे।

हाल चेक बाँध बनाइएको तर नदीमा फोहोर र लेदो जम्मा हुँदा प्रयोगमा आउन सकिरहेको छैन।

प्रकाशित: ६ मंसिर २०८२ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App