खाना पकाउने एलपी ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएकी छन्।
संसद्को उद्योग समितिको बुधबार बैठकमा उनले उद्योगीलाई ‘पाता कसेर’ भए पनि ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति ग्यास उद्योगी रुष्ट भएका थिए। उनले कर्मचारीको असहयोगका कारण पनि लामो समयदेखि ग्यास आपूर्तिको व्यवस्था मिलाउन नसकिएको पनि बताएकी थिइन्।
मन्त्री यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्ने र लाइसेन्स खारेज गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि उद्योगी रिसाएका थिए। विवादास्पद अभिव्यक्ति दिएको २४ घण्टा नबित्दै उनले उद्योगमन्त्रीको पद नै छाड्नुपर्यो।
यस्तो अभिव्यक्ति आउनुअघि पनि उनलाई मन्त्रीबाट हटाउने सरकारको तयारी भइरहेको भन्दै हल्ला चलेको थियो। उनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समेत विभिन्न टीकाटिप्पणी हुन थालेपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री बालेन्द्र शाहले यादवको राजीनामा सहजै स्वीकार गरी उनको ठाउँमा दीपककुमार साहलाई नियुक्त गरेका हुन्।
एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष दिवान चन्दले यादवको यस्तो विवादास्पद एवं अमर्यादित अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा जानकारी गराएका थिए। ग्यास उद्योगीले मन्त्री यादवले अभिव्यक्ति नसच्याए कडा कदम चाल्ने चेतावनीसमेत दिएका थिए।
पछिल्लो समय बजारमा ग्यास अभाव बढेपछि आपूर्ति प्रणाली कसरी सहज बनाउने भन्ने विषयमा सरोकारवालाहरूबिच छलफल चलिरहँदा यादवले ‘सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ’ भनेकी थिइन्।
यादवले हाल देशभर सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र दुई वटा उद्योग मात्र पर्याप्त हुने धारणासमेत राखेकी थिइन्। उनको यही अभिव्यक्तिप्रति ग्यास उद्योगीले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्षसमेत ध्यानाकर्षण गराएका थिए। त्यसपछि सरकार र उद्योगीबिचको विवाद थप चर्किएको थियो।
काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। अहिले उपभोक्ताहरू घण्टौं लाइनमा बस्दा समेत ग्यास नपाउने अवस्था रहेको छ। कतिपयले तोकिएको मूल्यभन्दा महँगोमा ग्यास खरिद गर्नुपरेको गुनासो गरेका छन्।
संकटको बेला सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा उल्टै मन्त्रीबाटै यस्तो धम्कीपूर्ण भाषा प्रयोग हुनुले आफूहरूलाई अत्यन्तै निराश र हतोत्साहित बनाएको व्यवसायीको आक्रोश थियो।
एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्दले आफ्ना सम्पूर्ण उद्योग सरकारलाई जिम्मा लगाउन तयार रहेको भन्दै चुनौती नै दिएका थिए। मन्त्रीले नै यस्तो धम्की दिएपछि व्यवसायीलाई काम गर्न कठिन हुने चन्दको भनाइ थियो।
मन्त्री यादवले आफ्नो अभिव्यक्ति नसच्याए आफूहरू कडा कदम चाल्न बाध्य हुने चेतावनी उद्योगीहरूले दिएका थिए। अहिलेको मुख्य दायित्व ग्यासको अभाव हटाउने भए पनि व्यवसायीलाई नै सम्पूर्ण दोष थोपर्ने प्रवृत्ति गलत भएको व्यवसायीको दाबी थियो।
मन्त्री र व्यवसायीबिचको सो विवाद बेलैमा संवादमार्फत नसुल्झाए यसले ग्यास आपूर्ति प्रणालीमै थप गम्भीर असर पार्न सक्ने जोखिम बढेको थियो। व्यवसायीको रिपोर्टिङपछि निकै दबाबमा परेका प्रधानमन्त्री शाहले उद्योगमन्त्री यादवले दिएको राजीनामा स्वीकृत गरी उनको स्थानमा सुनसरी–४ बाट निर्वाचित दीपककुमार साहलाई नियुक्त गरेका हुन्। नवनियुक्त उद्योगमन्त्री साहले बिहीबार नै पदीय जिम्मेवारी सम्हालेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका सांसद अमरेशकुमार सिंहले उद्योगमन्त्री यादवको राजीनामा नभई बर्खास्त भएको बताए। यादवको भनाइभन्दा फरक आयल निगमले झन्डै मागबमोजिमको ग्यास आपूर्ति भएको दाबी गर्दै आएपछि अहिले नेपाल आयल निगमले तोकेको ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँ छ तर अहिले बजारमा उपभोक्ताले प्रतिसिलिन्डर २५०० देखि २७०० रुपैयाँ तिरिरहेका छन्। अर्को कम्पनीको ग्यास सिलिन्डर साट्दा थप अतिरिक शुल्क तिर्नपर्ने बाध्यता पनि कायमै छ।
साहले लिए शपथ
नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार साँझ उनले राष्ट्रपतिबाट शपथ लिएका हुन्। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपतिले बिहीबार साहलाई उद्योगमन्त्री नियुक्त गरेका थिए। साह सुनसरी–४ बाट निर्वाचित सांसद पनि हुन्। यसअघि गौरीकुमारी यादवले उद्योग मन्त्रीबाट राजीनामा दिएकी थिइन्।
दल खोल्दै छाड्दै रास्वपा पुगेका साह अहिले उद्योगमन्त्री हुन सफल भए। जनमत पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका नवनियुक्त उद्योगमन्त्री साह पछि त्यही दलबाट साधारण सदस्यसमेत नरहने गरी पदमुक्त भएका थिए। त्यसपछि जनस्वराज र सर्वोदय दल गठन गरे। सर्वोदय दललाई रास्वपामा विलय गराएर सांसद बनेका साह अहिले उद्योगमन्त्री नियुक्त भएका हुन्।
रास्वपामा प्रधानमन्त्री शाहनिकट मानिएका नवनियुक्त उद्योगमन्त्री साह यसअघि विभिन्न पार्टी बनाउँदै र छोड्दै हिँडेका थिए। उनले यसबिचमा चार वटा पार्टी चहारिसकेका छन्। उनले जनमत पार्टी गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। जनमत पार्टी गठन गर्ने बेला डा. सिके राउतका सारथि साह रास्वपा सांसद हुँदै बिहीबार उद्योगमन्त्री बन्न सफल भएका हुन्।
प्रकाशित: २६ भाद्र २०८३ ०९:०३ शुक्रबार

