१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्य

‘सिंगल’ हुनुहुन्छ ? फिनल्यान्डले दिँदैछ ‘डेटिङ’को मौका, हवाई टिकटदेखि खानासम्म निःशुल्क

एआई तस्बिर

के तपाईं सिंगल हुनुहुन्छ र विदेश घुम्दै नयाँ मान्छे चिन्ने अवसर खोजिरहनुभएको छ ? 

यदि त्यस्तो हो भने युरोपेली देश फिनल्यान्डले संसारभरका १६ जना सिंगललाई निःशुल्क भ्रमणमा लैजाने भएको छ। चार दिनको यो भ्रमणमा सहभागीले फिनल्यान्ड घुम्नुका साथै त्यहाँका स्थानीय सिंगलसँग सामूहिक डिनरमा सहभागी हुने अवसर पनि पाउनेछन्।

फिनल्यान्डको पर्यटन प्रवर्द्धन गर्ने संस्था ‘भिजिट फिनल्यान्ड’ ले ‘फिनिस डिनर डेट’ नाम दिएर यो अभियान सुरु गरेको हो। यसका लागि छनोट हुने १६ जनालाई दुई समूहमा विभाजन गरिनेछ। आठ जनालाई राजधानी हेलसिंकी र बाँकी आठ जनालाई टाम्पेरे तथा लेकल्यान्ड क्षेत्रमा लगिनेछ।

सन् २०२७ को फेब्रुअरी ९ देखि १९ सम्म चार दिनको भ्रमण आयोजना हुनेछ। सहभागीले कुन गन्तव्यमा जाने भन्ने कुरा भने छनोट भएपछि मात्रै थाहा पाउनेछन्।

भ्रमणमा सहभागी हुनेको हवाई टिकट, बसाइ, खाना र विभिन्न गतिविधिको खर्च आयोजकले नै बेहोर्नेछ। तर सहभागीले आफ्नो यात्रा बिमा र आवश्यक यात्रा कागजातको व्यवस्था आफैँ गर्नुपर्नेछ।

यस अभियानको मुख्य आकर्षण स्थानीय सिंगलसँगको सामूहिक डिनर हो। प्रत्येक समूहका आठ जना अन्तर्राष्ट्रिय सहभागीले फिनल्यान्डका दुई स्थानीय सिंगलसँग एउटै टेबलमा बसेर खाना खान पाउनेछन्। यो व्यक्तिगत डेटिङ नभई एक अर्कालाई चिन्ने अवसरका रूपमा आयोजना गरिएको हो। यसबाट प्रेम सम्बन्ध नै स्थापित हुने ग्यारेन्टी भने छैन।

डिनरका लागि फिनल्यान्डका स्थानीय परिकार तयार गरिनेछन्। खानामा स्थानीय सामग्री, माछा, जंगली जनावरको मासु, च्याउ र बेरीलगायतका परिकार समावेश हुनेछन्। हेलसिंकीको समूहका लागि सेफ अडेला किनुनेन र टाम्पेरे तथा लेकल्यान्ड क्षेत्रको समूहका लागि सेफ हेनरी टिकानेनले खाना तयार गर्नेछन्।

यो अभियान फिनल्यान्डमा प्रचलित ‘सिंकुकोरी’ नामको चलनबाट पनि प्रेरित छ। फिनल्यान्डका केही किराना पसलमा सिंगल व्यक्तिले आफू नयाँ मान्छे भेट्न इच्छुक रहेको संकेत दिन गुलाबी रंगको किनमेल टोकरी प्रयोग गर्ने चलन छ।

कसरी आवेदन दिने ?
यस अभियानमा सहभागी हुन १८ वर्ष वा सोभन्दा माथिको र अविवाहित हुनुपर्नेछ। फिनल्यान्डमा बसोबास गर्ने व्यक्ति भने यसमा सहभागी हुन पाउने छैनन्।

आवेदन दिन इच्छुकले अंग्रेजी भाषामा एउटा भिडियो बनाउनुपर्नेछ। भिडियोमा ‘डेटिङका लागि डिनर तयार गर्नुपरे के परिकार बनाउनुहुन्छ र किन ?’ भन्ने प्रश्नको जवाफ दिनुपर्नेछ।

त्यसपछि उक्त भिडियो इन्स्टाग्राम, टिकटक वा युट्युबमा ह्यासट्याग #FinnishDinnerDate प्रयोग गरेर पोस्ट गर्नुपर्नेछ। पोस्टमा भिजिट फिनल्यान्डलाई ट्याग गरी भिडियोको लिंक आवेदन फाराममा राख्नुपर्नेछ। इन्स्टाग्राम र टिकटकको प्रोफाइल लक गरिएको हुनु हुँदैन। तर युट्युबमा भिडियो अनलिस्टेड राख्न सकिनेछ।

आवेदन दिने अन्तिम मिति सन् २०२६ नोभेम्बर १० हो। छनोट भएका १६ जनाको नाम डिसेम्बर १ मा भिजिट फिनल्यान्डको इन्स्टाग्राम र टिकटकमार्फत सार्वजनिक गरिनेछ।

प्रकाशित: १६ कार्तिक २०८३ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App