सडक अनुगमनका लागि सुदूरपश्चिम प्रदेश पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि उनलाई बैतडीबाट हेलिकोप्टरमार्फत सुर्खेत ल्याउने तयारी गरिएको छ।
मन्त्री लम्साल आइतबार दार्चुलाबाट बैतडी पुगेका थिए। बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बोलाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टका अनुसार मन्त्री लम्साललाई बैतडीबाट सुर्खेत ल्याउने तयारी भइरहेको छ।
उनले मन्त्री बैतडी पुगेपछि अस्वस्थ भएको जानकारी आएको र उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर बोलाइएको बताए।
मन्त्री लम्साल सडक अनुगमनका क्रममा दुई दिनअघि दार्चुला पुगेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनको पूर्वनिर्धारित अनुगमन कार्यक्रम प्रभावित भएको छ।
प्रकाशित: ३१ श्रावण २०८३ १८:२३ आइतबार


-600x400.jpg)

-600x400.jpg)
