बैतडी पुगेका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा अचानक समस्या आएपछि काठमाडौं ल्याउने तयारी भएको छ। सुर्खेतबाट हेलिकोप्टर मगाएर बैतडीबाट धनगढी लगिएका मन्त्री लम्साललाई मौसमले साथ दिए आजै काठमाडौं ल्याउने तयारी भएको हो।
मन्त्री लम्सालसहित उनको टोलीमा रहेका सबैलाई भाइरल ज्वरो देखिएको सचिवालयले जनाएको छ। मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सहसचिव एवं सडक विभागका डिजी विजय जैशी, मन्त्री लम्सालका सुरक्षा गार्डलाई पनि उच्च ज्वरो देखिएको छ।
मन्त्री लम्सालको सचिवालयका अनुसार, उनको शरीरमा अत्यधिक दुखाइ रहेको छ। उच्च ज्वरोले शरीर हलचल गर्न नसक्ने र अधिकांश भागमा दुखाई सहन नसक्ने अवस्थामा रहेको छ। श्वासप्रश्वासमा समेत कठिन भएपछि थप उपचारका लागि काठमाडौं ल्याउने गरी व्यवस्थापन भइरहेको सचिवालयका एक कर्मचारीले बताए।
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले मुलुकका विभिन्न स्थानमा फ्लुसहितका विभिन्न प्रकारका संक्रमण फैलिरहेकाले परीक्षण नगरी यकिन भन्न नसकिने बताए। उनका अनुसार, मन्त्री लम्साललाई देखिएको लक्षणका आधारमा कोभिड पनि हुन सक्नेछ। सुदूरपश्चिमका केही जिल्लामा डेंगी समेत देखिएको बताउँदै डा.पुनले श्वासप्रश्वास सम्बन्धी समस्याले पनि यसप्रकारको समस्या देखिने जानकारी दिए।
प्रकाशित: ३१ श्रावण २०८३ १९:२२ आइतबार


-600x400.jpg)

-600x400.jpg)
