२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

यूएन ईस्क्याप मञ्चमा कृषिमन्त्रीले उठाइन् जलवायु न्याय र कृषिको एजेन्डा

<br>

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) को वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेकी छन्।

जुलाई १ देखि ३ सम्म आयोजना हुने यस बैठकको उद्घाटन सत्रमा बुधबार मन्त्री चौधरीले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकी हुन्।

यसका साथै सोही अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा समेत मन्त्री चौधरीले नेपालको तर्फबाट सक्रिय सहभागिता जनाइन्।

समितिको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका क्षेत्रमा नेपालले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू विश्व मञ्चमा प्रस्तुत गरिन्।

नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर असर भोग्न बाध्य भएको उनले उल्लेख गरिन्।

सम्बोधनका क्रममा मन्त्री चौधरीले तीव्र रूपमा हिमनदी पग्लिरहेको, हिमताल विस्फोटको जोखिम बढेको र खाद्य सुरक्षामा चुनौती थपिएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।

यी चुनौती सामना गर्न जलवायु न्याय, पर्याप्त र सहज जलवायु वित्त, प्रविधि हस्तान्तरण, क्षमता विकास तथा अनुकूलनका लागि थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको धारणा उनले व्यक्त गरे।

नेपालको सफल सामुदायिक वन व्यवस्थापन, जलवायुमैत्री कृषि र नवीकरणीय ऊर्जाको प्रवर्द्धनलाई क्षेत्रीय तथा विश्वव्यापी रूपमा अनुकरणीय अभ्यासका रूपमा प्रस्तुत गर्दै उनले अल्पविकसित, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकका जैविक उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा सहुलियतपूर्ण र सहज पहुँच उपलब्ध गराउन विशेष जोड दिए।

ईस्क्यापकी कार्यकारी सचिवसँग शिष्टाचार भेट

बैठकका क्रममा मन्त्री चौधरीले यूएन ईस्क्यापकी कार्यकारी सचिव आर्मिडा साल्सिया आलिस्जाहबानासँग शिष्टाचार भेटवार्ता गरिन्।

भेटमा नेपाल र ईस्क्यापबीचको लामो सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै जलवायु परिवर्तन, पर्वतीय पारिस्थितिकीय प्रणाली, विपद् जोखिम न्यूनीकरण, दिगो कृषि, जैविक अर्थतन्त्र, हरित उद्योग, वातावरणीय तथ्याङ्क, कार्बन बजार र आवश्यक प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

यसका साथै नेपालको योग्य जनशक्तिको ईस्क्यापमा प्रतिनिधित्व वृद्धि गर्ने तथा नेपालमा क्षेत्रीय संवाद र प्राविधिक कार्यक्रम आयोजना गर्ने सम्भावनाबारे समेत विचार आदानप्रदान भएको थियो।

नेपाल र बंगलादेशबीच द्विपक्षीय भेटवार्ता

बैठककै दौरान मन्त्री चौधरी र बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अब्दुल आवाल मिन्टूबीच द्विपक्षीय भेटवार्ता भयो। भेटमा दुवै देशबीच वातावरण, वन, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन, जैविक अर्थतन्त्र र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा साझेदारी थप सुदृढ गर्ने विषयमा छलफल भयो। दुवै मन्त्रीहरूले नेपाल र बंगलादेशबीच कृषिलाई आधुनिकीकरण गर्ने विषयमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी, ईस्क्यापको ८२औं बैठकले अनुमोदन गरेको जैविक अर्थतन्त्रसम्बन्धी प्रस्तावको प्रभावकारी कार्यान्वयन, ज्ञान आदानप्रदान, प्रविधि हस्तान्तरण, अनुसन्धान र जैविक उत्पादनहरूको मूल्य अभिवृद्धिमा सहकार्य बढाउने सहमति भएको छ।

जलवायु वार्ताहरूमा जलवायु न्याय, जलवायु वित्त र हानि र नोक्सानी (लस एन्ड ड्यामेज) लगायतका विषयमा विकासशील मुलुकहरूको साझा आवाजलाई सशक्त रूपमा उठाउने विषयमा समेत दुवै पक्ष सहमत भएका छन्।

उच्चस्तरीय साइड इभेन्टमा सम्बोधन

मन्त्री चौधरीले ‘दिगो जैविक अर्थतन्त्रमार्फत एसिया तथा प्रशान्त क्षेत्रमा सहकार्य प्रवर्द्धन’ विषयक उच्चस्तरीय साइड इभेन्टलाई समेत सम्बोधन गरिन्।

सम्बोधनमा उनले नेपालको समृद्ध जैविक विविधता, वन, कृषि, औषधीय र सुगन्धित वनस्पति तथा स्थानीय ज्ञानलाई दिगो आर्थिक समृद्धिको आधारका रूपमा उपयोग गर्न सकिने उल्लेख गरिन्।

जैविक अर्थतन्त्र नेपालका लागि हरित रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र जलवायु उत्थानशीलता अभिवृद्धिको प्रभावकारी माध्यम भएको उनको भनाइ थियो।

जैविक अर्थतन्त्रको पूर्ण सम्भावना उपयोग गर्न विकासशील मुलुकहरूलाई आधुनिक प्रविधि, अनुसन्धान, नवप्रवर्तन, सहुलियतपूर्ण वित्तीय स्रोत र क्षमता विकास आवश्यक रहेको उनले बताइन्।

यसका लागि आदिवासी जनजाति, स्थानीय समुदाय, महिला र युवाको ज्ञान तथा सीपलाई जैविक अर्थतन्त्रको केन्द्रमा राख्नुपर्नेमा उनले जोड दिइन्।

नेपाल सरकार जलवायु परिवर्तन, वातावरण संरक्षण, जैविक विविधता संरक्षण, हरित विकास तथा दिगो विकास लक्ष्यहरूको प्रभावकारी कार्यान्वयनका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई थप सुदृढ गर्दै जान प्रतिबद्ध रहेको मन्त्री चौधरीले स्पष्ट पारिन्।

प्रकाशित: १७ असार २०८३ १९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App