महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले पशुपति वृद्धाश्रम पुगेर त्यहाँको अवस्था अवलोकन गरेकी छन्। मन्त्रीको हैसियतमा वृद्धाश्रमको अवस्था बुझ्ने अवसर पाउँदा खुसी लागेको उनले बताइन्।
उनले विगतमा अध्ययनका क्रममा पनि सोही स्थानमा सेवा गरेको स्मरण गर्दै लामो समयपछि पुनः त्यहाँ पुग्न पाउँदा विशेष अनुभूति भएको उल्लेख गरिन्।
करिब नौ वर्षअघि पुष्पलाल मेमोरियल कलेज, चावहिलमा अध्ययनरत रहँदा कलेजमार्फत समाज कल्याण केन्द्रअन्तर्गत पशुपति वृद्धाश्रममा तीन महिनासम्म सेवा गर्ने अवसर पाएको बताउँदै त्यहाँका ज्येष्ठ नागरिकका जीवनका कथा, पीडा, संघर्ष र मायाले आफूमा गहिरो प्रभाव पारेको उनको भनाइ छ। ‘त्यही अनुभवले मानवताको साँचो अर्थ सिकायो—सेवा केवल कर्तव्य मात्र होइन, आत्मसन्तुष्टिको माध्यम पनि हो,’ उनले भनिन्।
मन्त्रीका रूपमा वृद्धाश्रममा पुग्दा विगतका अनुभव सम्झिएको बताउँदै उनले पहिले गरेको सेवा अहिले ठूलो जिम्मेवारीमा रूपान्तरण कारण पद ठूलो नभई सेवा ठूलो रहेको बताएकी छिन्।
उनले आफ्नो जिम्मेवारीलाई पदभन्दा पनि सेवा र समर्पणको अवसरका रूपमा लिएको बताउँदै विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा असहाय वर्गका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता गरेकी छिन्।
प्रकाशित: २१ चैत्र २०८२ ११:०७ शनिबार





