२१ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

डीपी अर्याललाई खुश्बुको बधाई : दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने अपेक्षा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य खुश्बु ओलीले बधाई दिएकी छिन्।

उनले अर्याल दलगत सीमाभन्दा माथि उठेर सदनको निष्पक्ष प्रतिनिधित्व गर्न सफल हुने विश्वास व्यक्त गरेकी छन्। ओलीले विगतका केही सभामुखहरूमा देखिएको सत्तापक्षीय झुकावको प्रवृत्तिबाट अलग रहेर अर्यालले नयाँ मापदण्ड स्थापित गर्ने आशा राखेकी छन्।

एक्समा जारी सन्देशमा उनले भनेकी छन्, ‘मलाई विश्वास छ, उहाँले दलगत सीमाभन्दा माथि उभिएर सम्पूर्ण सदनको प्रतिनिधित्व गर्दै निष्पक्षता, संयम र प्रक्रियागत अभ्यासमा उत्कृष्टता हासिल गर्न सफल हुनुहुनेछ।’

सत्ता र प्रतिपक्षबिच सन्तुलित व्यवहार, संवैधानिक मर्यादाको संरक्षण तथा संसदीय प्रक्रियाको निष्पक्ष सञ्चालनमा अर्याल अब्बल साबित हुने शुभेच्छा ओलीको छ। उनले यस्ता गम्भीर जिम्मेवारीहरू व्यवहारमा चुनौतीपूर्ण भए पनि अर्यालले दृढता, विवेक र संस्थागत निष्ठाका साथ आफ्नो भूमिकालाई न्याय गर्ने  बताएकी छन्।

अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोबिता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल छन्। कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ।

दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ (आइतबार) गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। एकमात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।

प्रकाशित: २१ चैत्र २०८२ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App