नेपाली कांग्रेसका नेता एवं मोरङ –२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मीनेन्द्र रिजाल जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या, गुनासोसँग सुन्न व्यस्त रहेका छन् । २०७४ को आम निर्वाचनमा तत्कालिन नेकपा (एमाले) र नेकपा माओवादीको गठबन्धनलाई चिर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित रिजाल अहिले फेरि सोही क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा छन् ।
पार्टीको १४औं महाधिवेशनमा तत्कालिन प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको विपक्ष समूहबाट रिजाल महामन्त्रीको प्रत्यासी बनेका थिए । महामन्त्रीमा पराजित रिजालले त्यसपछि नैतिकताको आधारमा देउवा नेतृत्व सरकारको रक्षामन्त्रीबाट राजीनामा गरेका थिए । २०७९ को निर्वाचनमा कांग्रेसले मोरङ –२ मा सुजाता कोइरालालाई उम्मेदवार बनायो । सुजाता एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् । पार्टी र संसदीय राजनीतिमा पनि किनारामा बसेर पार्टी संगठनमा सक्रिय रिजाल मोरङ –२ का लागि परिचित नेता हुन् ।
अनुभवी, जनतामैत्री र उत्तरदायी मात्र होइन पार्टीभित्र र अन्य दलहरूसँग संवाद तथा सहमतिको सुत्रधारको भूमिका निर्वाह गर्नसक्ने नेताको छबी बनाएका रिजाल मोरङ –२ को विकास र देशलाई निकास दिने संकल्पसहित निर्वाचनमा होमिएको बताउँदै आएका छन् । त्यसका लागि जनतासँग निरनतर साक्षात्कारमा रहेको जनाउँदै रिजालले भने,‘जनताको मन मात्र होइन मत पनि जित्नेछु ।’ जनताको विश्वासमा धोका हुन नदिने जनाउँदै उनले भने,‘जनताका समस्यालाई सम्बोधन गर्ने काममा सक्रिय हुनेछु ।’
२०४८ देखि २०५८ सम्मको गिरिजाप्रसाद कोइराला निर्वाचित त्यस क्षेत्रमा आमोदप्रसाद उपाध्याय, ऋषिकेश पोखरेलसहितका नेतालाई जनताले आफ्ना प्रतिनिधि चुनेर पठाइसकेका छन् । फागुन २१ को निर्वाचनमा कांग्रेसबाट रिजालका साथै एमालेका दीलिप बगडिया, नेपाली कम्युनिस्ट पार्टीका चन्द्रवीर राई, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण कार्की, राष्ट्रिय ऊर्जाशील पार्टीका मनोज राजवंशीसहितका उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रकाशित: २८ माघ २०८२ १७:२८ बुधबार





