काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षामा विशेष पहल गरेको छ।
महानगरपालिका, निजी विद्यालयका छाता संगठनहरू तथा एन–प्याब्सन र अभिभावकबीच भएको त्रिपक्षीय सम्झौता अनुसार उनीहरुले माध्यमिक शिक्षा परीक्षा सम्म पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका छन्।
सम्झौताअनुसार छनोट भएका बालबालिकाको पठनपाठन, आवास तथा छात्रावासको खर्च विद्यालयले तिर्नेछ । महानगरपालिकाका अनुसार हाल होल्डिङ सेन्टरमा रहेका करिब ३०० परिवारमध्ये पहिलो चरणमा स्क्रिनिङ गरिएका ५० बालबालिकामध्ये ४१ जनालाई बल्खुस्थित जनविकास माविमा भर्ना गरिएको छ।
त्यसैगरी १० वर्षभन्दा माथिका २० बालबालिकालाई आवासीय सुविधासहित निजी विद्यालयमा अध्ययन गराउने सहमति भएको छ। तीमध्ये १३ जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको महानगरले जनाएको छ।
१० वर्षभन्दा कम उमेरका बालबालिकालाई छात्रावासमा राख्न व्यवहारिक कठिनाइ भए पनि शैक्षिक संस्थाहरूले उनीहरूलाई अध्ययनको अवसर दिन इच्छा व्यक्त गरेका छन्। अभिभावक सहमत भएमा १० वर्षमुनिका बालबालिकालाई समेत एसईईसम्म पूर्ण छात्रवृत्ति र छात्रावास सुविधा उपलब्ध गराउने तयारी महानगरपालिकाले गरेको छ।
प्रकाशित: २ जेष्ठ २०८३ १२:३३ शनिबार





