२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

ठूला दल मिल्नु संकट होइन, अस्थिरता नै समृद्धिको बाधक हो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देखिएको वर्तमान समस्याको जड ठूला दलहरूको सहकार्य नभई राजनीतिक अस्थिरता निम्त्याउने खेल भएको बताएका छन्।

बिहीबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले भने, ‘ठूला पार्टी मिलेकै कारण आजको संकट आएको होइन। संकट त एकता फुटाउन र अस्थिरताको चक्र फेरि चलाउन निम्त्याइएको हो। संवैधानिक प्रक्रियाबाट स्थिर सरकार नढल्ने भएपछि खोजिएको अर्को बाटो भदौ २३ र २४ गतेको घटना हो।’

राजनीतिमा उदाएका रास्वपा लगायतका नयाँ शक्तिहरूप्रति लक्षित गर्दै अध्यक्ष ओलीले उनीहरूको क्षमता र हैसियत जनताले देखिसकेको दाबी गरे।

‘अहिले नयाँ कि पुरानो भन्ने बहस गरिन्छ, तर धेरै नयाँ पात्रहरूले स्थानीय वा सङ्घीय सरकारमा बसेर आफ्नो क्षमता र हैसियत देखाइसकेका छन्,’ ओलीले भने।

उनले एमाले कुरामा भन्दा पनि काम र परिणाममा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै एमालेसँग मात्र लक्ष्य र समय सीमा तोकेर काम सम्पन्न गर्ने कार्यशैली रहेको सुनाए।

अध्यक्ष ओलीले नीति र राजनीतिमा स्थिरता नभई मुलुकको विकास सम्भव नहुने तर्क गरे। अस्थिरताले विकासको गति रोकिने र अर्थतन्त्रप्रति भरोसा टुट्ने उनको भनाइ थियो।

उनले भने, ‘जनतालाई सुखी बनाउने बाटोमा सबैभन्दा ठूलो तगारो नै राजनीतिक अस्थिरता हो।’

अबको जिम्मेवारी केवल सत्ता सञ्चालन मात्र नभई राज्यका महत्त्वपूर्ण संरचनाहरूको पुनर्निर्माण र निजी क्षेत्रको खस्किएको मनोबल उकास्नु रहेको उनले बताए।

‘सिंहदरबार, अदालत, संसद् भवन र अन्य जलाइएका संरचनाहरूको पुनर्निर्माण गर्नुछ। निजी क्षेत्रको खस्किएको मनोबल उठाउनु र शान्ति सुव्यवस्थाप्रति भरोसा फर्काउनु हाम्रो मुख्य जिम्मेवारी हो,’ उनले थपे।

अध्यक्ष ओलीले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनै सम्झौता नगर्ने सुनाए।

प्रकाशित: ७ फाल्गुन २०८२ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App