१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

बजेट पारित हुन नसकेपछि आरोप प्रत्यारोपमा मेयर- उपमेयर

इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसकेपछि नेकपा एमालेबाट विजयी जनप्रतिनिधि र नगरप्रमुख एक अर्काबिच आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

बजेट पारित नगरेपछि नगर सभाको १६ औं बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । नगर सभाबाट बजेट पारित हुन नसक्नुमा नगरप्रमुख हेमकर्ण पौडेलकै गैर जिम्मेवारी र असंवेदनशीलता मुख्य कारक भएको एमालेबाट निर्वाचित जनप्रतिनिधिले दाबी गरेका छन् । एमालेबाट विजयी उपप्रमुख संगीता चौधरीको नेतृत्वमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा योजनाको किटानी र बजेट यकिन गर्नुपर्नेमा त्यसो हुन नसकेपछि बजेट पारित नभएको जानकारी दिइयो ।

‘अनुसूची बिना बजेट पास गर्दा नगरप्रमुखले मनोमानी शीर्षकहरूमा खर्च गर्ने गरेकाले गर्दा महालेख परीक्षकको प्रतिवेदनमा समेत बेरुजु हुने गरेको देखिएकाले गर्दा विगतको पाठ सिक्दै अनुसूची सहितको ल्याउन माग गर्दा पनि अटेर गरेपछि बजेट पारित हुन सकेन,’ उपप्रमुख चौधरीले पत्रकार सम्मेलनमा भनिन् । उनले अनुसूचीसहितको बजेट निर्माण गर्न नगरप्रमुख तयार रहे आफ्नो पक्षबाट सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।

सो पत्रकार सम्मेलनमा वडा नं. ९ का वडाध्यक्ष जितेन थापाले आफ्नो पक्षबाट इटहरीलाई बजेट निहीनताको अवस्था ल्याउन भूमिका नरहेकाले गर्दा अब यसलाई नगरप्रमुखले नै सम्हालेर लानुपर्ने सुल्झाए ।

त्यसो त नगरप्रमुख पौडेलले भने एमाले दोषी रहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘नेकपा एमालेका नेताहरुले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित,’ उनले भनेका छन्, ‘इटहरीबासी बजेटबाट विमुख।’ यद्यपि, उनले सामाजिक सञ्जालमा लेखेको पोष्ट यति बेला भने  डिलिट गरी सकेका छन् । 

इटहरीमा नगरप्रमुखसहित पाँच वटा काँग्रेसले जितेको छ भने उपप्रमुखसहित १५ वटा एमालेले जितेको छ । 

उपप्रमुख चौधरीले असार १० गते आगामी आर्थिक वर्ष २०८२–८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी थिइन् । आगामी वर्षका लागि चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात कुल बजेटको ४०.७९ प्रतिशत वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात कुल बजेटको ०.३५ प्रतिशत र पूजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात कुल बजेटको ५८.८६ प्रतिशत छुटाइएको घोषणा गरिएको थियो ।

इटहरीमा बजेट पारित हुन नसक्नुमा नगरप्रमुख हेमकर्ण पौडेलकै कारण भएको जनाउँदै एमालेबाट विजयी उपप्रमुखसहितको पत्रकार सम्मेलन । 

प्रकाशित: १ श्रावण २०८२ १८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App