२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

आजदेखि नगरप्रमुख आमरण अनसनमा

सरकारले आफ्नाे मागकाे कुनै सुनवाइ नगरेकाे भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आमरण अनसन बसेका छन्।

खोटाङलाई बाँसको राजधानी बनाउने माग गर्दै सरकारको ध्यानाकर्षण गराउन सत्याग्रहमा बसेका नगर प्रमुख भट्टराईले सरकारले कुनै चासाे नदेखाएपछि आमरण अनसनमा बसेकाे बताए।

आइतबार सिंहदरबारको दक्षिण गेटमा सत्याग्रह बसेका भट्टराईले माइतीघरमा बाँसकाे ओढ्ने ओछ्याउने, परालको गुन्द्री, भेडाको उनकाे राडी, बाँसका अन्य विभिन्न सामग्री लिएर सत्याग्रहमा बसेका थिए।

दिक्तेल रुपाकोट मझुवागढीले नगरसभाबाटै बाँसको राष्ट्रियकरण, उत्पादन, औद्योगीकरण र उपभोग गर्ने नीतिगत निर्णय गरेर त्यसलाई सरकारले आवश्यक नीतिनियम बनाई सहज वातावरण बनाइदिन ध्यानाकर्षण गराउँदै आएको छ।

नगरपालिकाले बाँसको प्रवर्द्धनका लागि सदरमुकाम दिक्तेलमा गत वर्ष फागुन १५ देखि १७ गतेसम्म ३ दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’ गरेको थियो। नगर प्रमुख भट्टराई ०७९ को स्थानीय तहकाे निर्वाचनमा निर्वाचित भएलगत्तै बाँसको प्रवर्द्धनमा लागेका छन्।

उनले आफ्नो कार्यकक्षमा पनि बाँसबाट निर्मित टेबल, कुर्सी, सोफासेट, टिटेबल, लुगा झुन्ड्याउने आल्ना, ह्याङ्गर, कलमदानी, टेलिफोन बक्स, मोबाइल बक्स, किताब र्याक जस्ता सामग्री प्रयोगमा ल्याएका छन्।

बहुउपयोगी बाँसको प्रवर्द्धन गरी नगरबासीलाई उद्यम व्यवसायमा लगाएर औद्योगीकरण, व्यवसायीकरण गरी रोजगारी सिर्जना तथा आयआर्जन गर्ने वातावरण सरकारले बनाइदिनुपर्ने भट्टराईको माग छ।

नगरसभाको निर्णय, राष्ट्रिय सम्मेलनको निष्कर्षसहित माग राख्दा पनि कुनै सुनवाइ नभएपछि अभियानमा लागेको उनले बताए।

बाँस स्थानीय स्तरमा सर्वसुलभ पाइने, नेपाली संस्कार संस्कृति र मानव जीवनको दिनचर्यासँग जोडिएकाले यसको सदुपयोग गर्न सरकारले उचित वातावरण बनाइदिनुपर्ने माग नगरपालिकाले अघि सारेको छ।

स्थानीय स्रोतसाधनको संरक्षण, बाँस उद्योगलाई प्राथमिकता, वातावरणीय न्याय, जलवायु क्षतिपूर्ति जस्ता सात बुँदे माग राखेर सत्याग्रहमा बसेकाे उनलाई विभिन्न संघसंस्था, नागरिक समाज, विद्यार्थी र सर्वसाधारणले समर्थनमा ऐक्यबद्धता जनाएका छन्।

प्रकाशित: १४ श्रावण २०८२ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App