३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

देश, लोकतन्त्र र संविधानका लागि नयाँ जनमत उपयोग हुन सकोस्: पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य  निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।  

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको लोकार्पण गर्दै उनले जेनजी युवाहरूको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र रास्वपाले त्यसलाई देश बनाउन सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।  

‘विसं २०१५ मा पनि नेपाली काँग्रेसले दुई तिहाइ ल्याएर विपी कोइराला प्रधानमन्त्री हुनुभएको थियो । त्यसले पूरा समय काम गर्न पाएन । हालको जनमत त्यसरी खेर नजाओस्’, पूर्वराष्ट्रपति डा यादवले भने, ‘देश, संविधान,  लोकतन्त्र, सङ्घीयता, धर्म निरपेक्ष, समावेशीता सबै बचोस् । संविधानको पालनाको काम होस्, तर आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्रै जित्नुपर्छ भन्ने सोच कसैले राख्नुहुँदैन । प्रतिपक्षविना लोकतान्त्रिक प्रणाली बलियो हुनसक्दैन ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरु सबै पार्टी र नागरिकले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए ।

लेखक पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई सङ्कलन गरेर पुस्तकका रूपमा ल्याएको बताए ।

 

प्रकाशित: ३ चैत्र २०८२ १९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App