नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अघि बढ्न प्रतिबद्ध रहेको बताएकी छन्।
पार्टीद्वारा आज आयोजित जिल्ला भेला एवं तीज विशेष कार्यक्रममा उनले जनयुद्धदेखि हालसम्मको अवस्थालाई संश्लेषण गरेर समाजवादी आन्दोलनको खाका तयार गर्न माओवादी नेतृत्व लागेको बताइन्।
‘सुदृढ र एकीकृत पार्टी निर्माण गरेर समाजवादको बाटो निर्माणका लागि हाम्रो पार्टी लागिपरेको छ,’ उपाध्यक्ष भुसालले भनिन्, ‘पार्टीको आगामी बैठक र महाधिवेशनले समाजवादी क्रान्तिको विस्तृत कार्यदिशा तयार गरेर अघि बढ्छ।’ उनले केन्द्रदेखि तल्लोतहसम्म पार्टी कार्यकर्ताले निर्णयलाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।
‘विमति र फरक विचारहरू पार्टीमा राख्न पाइन्छ, आफ्ना समितिमा राख्ने छुट छ, तर छरपस्ट रूपमा सार्वजनिक गर्न पाइँदैन, सबै सदस्य एवं नेतृत्वले पार्टीको निर्णयलाई पालना गर्नुपर्छ,’ उनले भनिन्, ‘पार्टीले गुट र उपगुट सबै खारेज गरेको छ।’
कार्यक्रममा पार्टीका महिला नेतृत्व एवं कार्यकर्ताहरूको उपस्थिति थियो।
प्रकाशित: २३ श्रावण २०८२ २१:०९ शुक्रबार





