२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसद्‌मा माओवादी: प्रधानमन्त्रीको भाषण सुन्दा लाग्छ- देशमा कुनै समस्या छैन

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा प्रस्तुत गरेका सकारात्मक तथ्याङ्कहरू अघिल्लो सरकारले गरेको कामको परिणाम भएको बताएका छन्।

बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै पुनले यस्तो बताएका हुन्। 'जनताको स्वास्थ्यलाई बिचौलिया र दुई दलको भागबन्डाको बन्दकी बनाएर तपाईंले प्रस्तुत गर्ने तथ्याङ्कले के अर्थ राख्छ ? तपाईंले बिर्सिनुभएको छ, तपाईंले प्रस्तुत गरेका तथ्याङ्कहरू अघिल्लो सरकारले नै अघि सारेका कार्यक्रम र बजेटका प्रतिफलहरू हुन्,' उनले भनेका छन्।

उनले प्रधानमन्त्रीको भाषण सुन्दा देशमा कुनै समस्या नै छैन भन्ने महसुस हुने पनि बताए। 'सरकारको एकपछि अर्को बेथिति र भ्रष्टाचारका शृङ्खलाहरूका कारण जनतामा चरम निराशा छाएको बेला सम्माननीय प्रधानमन्त्रीजीले सम्मानित संसद्‌मा सरकारको प्रगतिहरूको फेहरिस्त प्रस्तुत गर्नुभएको छ हिजो मात्रै। उहाँको भाषण सुन्दा यस्तो लाग्छ, मानौँ देशमा कुनै समस्या छैन, विकास द्रुत गतिमा भइरहेको छ, सुशासनका कैयन् मानकहरू बनिरहेका छन् र सरकारको विरोध गर्नेहरू सबै मतिभ्रष्ट हुन्,' उनले भने।

पुनले थपे, 'तर, प्रधानमन्त्रीज्यू, तपाईंले संसद्‌मा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भएको किन बिर्सनुभयो ? तपाईंले स्वास्थ्यका तथ्याङ्कहरू प्रस्तुत गरिरहँदा उता मेरिटोक्रेसी मिचेर तपाईंहरूको भागबन्डा चलिरहेको थियो। तपाईंको कुशासनसँग लड्न नसकेर एउटा योग्य चिकित्सक देश छोड्दै थिए, तपाईंलाई अलिकति पनि सङ्कोच लागेन- मेडिकल काउन्सिलमा दर्ता भएका ७४ प्रतिशत चिकित्सकहरू विदेश पलायन हुने गरेको सरकारी तथ्याङ्क छ, यसमा एक वर्षदेखि तपाईंकै मन्त्रीले दरबन्दीका लागि पेस गरेको फाइल स्वीकृत गर्नुभएको छैन।'

उनले प्रधानमन्त्री ओलीले रातारात आर्थिक परिसूचकहरू सकारात्मक भएको दाबी गरेको तर, कहिल्यै त्यस्तो नहुने दाबीसमेत गरे। 'आर्थिक वृद्धि भएको, सबैजसो आर्थिक परिसूचकहरू सकारात्मक भएको दाबी गर्नुभएको छ। तर, अर्थशास्त्रको सामान्य विद्यार्थीले पनि बुझ्ने कुरा हो, आर्थिक परिसूचकहरू रातारात सकारात्मक हुँदैनन्। निराशाको चक्रव्यूहबाट निकै मेहनतका साथ विगत सरकारले काम गरेका कारणले केही सकारात्मक सङ्केत देखिएको छ। तर, अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकाङ्कहरू कुनै रकारात्मक छैन। वाणिज्य बैंकहरूको ब्याजदर घटेर ६/७ प्रतिशतमा आइसकेको छ। बैंकहरूमा लगानीयोग्य पैसा थुप्रिएर बसेका छन्। उद्योगी व्यवसायीहरू ऋण लिएर व्यवसायमा लगाउन किन तयार छैनन् ?,' उनले सोधे।

प्रकाशित: २९ श्रावण २०८२ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App