नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कोष तथा लेखा विभागका उप-प्रमुख विमल अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले उक्त घोषणा गरेका हुन्।
उनले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र ‘मूल्य, सिद्धान्त र वैचारिक दिशाबाट विचलित’ भएकाले अब आफू त्यससँग कुनै सम्बन्ध नराख्ने स्पष्ट पारे।
अधिकारीले पछिल्ला १९ वर्षदेखि माओवादी आन्दोलनमा आस्था राखेर अगाडि बढिरहँदासमेत पार्टीभित्र नीति–निर्णयको अस्पष्टता, मूल्यहीन गठबन्धनमा निर्भरता तथा राष्ट्रहित र युवापुस्ताको आकांक्षा बेवास्ता हुने प्रवृत्ति बढ्दै गएको बताए। उनले यी कारणले पार्टीको भविष्य तत्कालीन ढाँचामा अब नदेखिने जिकिर गरे।
उनले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँगै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलगायत करिब १० पार्टीको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’मा पनि आफू सहभागी नहुने घोषणा गरेका छन्।
'पार्टीभित्र नीति-निर्णयको अस्पष्टता, मूल्यहीन गठबन्धनहरूमा निर्भरता र राष्ट्रहीत तथा युवापुस्ताको आकांक्षालाई बेवास्ता गर्ने प्रवृत्तिले अब तत्कालीन ढाँचामा यसको भविष्य देखिँदैन। यही कारण प्रचण्ड नेतृत्वको माओवादी केन्द्र तथा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलगायत करिब १० पार्टी मिलेर भएको एकताका कुनै पनि प्रक्रियामा म संलग्न नहुने निर्णय गर्दै यिनै १० पार्टी मिलेर गठन भएको 'नेपाली कम्युनिस्ट पार्टी' मा पनि म आबद्ध नहुने घोषणा गर्दछु,' उनले भनेका छन्।
छात्र, युवा र प्रवासी क्षेत्रमा लामो समय सक्रिय रहेका अधिकारी २०६७ देखि २०७४ सम्म अभानेविसंघका केन्द्रीय अध्यक्ष थिए। माओवादी फुटेको समयमा नयाँ पार्टी गठनका लागि संयोजकको भूमिकासमेत उनले वहन गरेका थिए। त्यसपछि नेकपा फुट्दा पुनः प्रचण्ड नेतृत्वको एकतामा उनी सहभागी भएका थिए। तर पछिल्ला वर्षमा देखिएको ‘वैचारिक अधोपतन र दिशाहीन नेतृत्व’ले अब कुनै संरचनात्मक सुधार सम्भव नभएको निष्कर्षमा उनले आफू पुगेको बताए।
वैश्विक राजनीतिक परिवर्तन, नवीन सोच र वैकल्पिक नेतृत्वको आवश्यकता नेपालमा पनि तीव्र रूपमा बढेको उल्लेख गर्दै उनले ‘नयाँ प्रगतिशील राष्ट्रिय अभियान’अन्तर्गत वैकल्पिक राजनीतिक धार निर्माणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: ३० कार्तिक २०८२ १२:०५ आइतबार





