गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा केही पनि भएको छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै यो भाष्य चिर्न सबैको सहकार्यमार्फत समृद्धि हासिले गर्नुपर्ने बताएका छन्।
नेपाल जेसिजको आयोजना र जेसिआई व्यास नगरको आतिथ्यतामा शनिबारदेखि दमौलीमा सुरु भएको नेपाल जेसिज क्षेत्र (ख) सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नेपालमा धेरै परिवर्तन भएको बताउँदै २०५० सालभन्दा पछाडि जन्मिएका युवाहरूले परिवर्तन नदेखेका उल्लेख गरे। साथै उनले नकारात्मक सोच त्यागेर सकारात्मक योजनाका साथ विकास निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिए।
उनले एक थरी कामको खोजीमा र अर्का थरी नेपालको जीवनशैलीभन्दा विदेशको जीवनशैली खोज्दै विदेशिएका बताए। कामको खोजीमा जाने युवालाई स्वदेशमै राख्न सक्नुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले भने, 'युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सोच विकास गराउनुपर्ने जरुरी छ।'
यस्तै पाण्डेले सकारात्मक सोच र योजनाबाट मात्रै मुलुक समृद्ध हुने भएकाले सहकार्य र समन्वयबाट काम गर्नुपर्ने धारणा राखेका छन्।
नेपालका युवामा नकारात्मकता हाबी हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले भने, 'नकारात्मक सोचले मुलुक बन्दैन। नकारात्मकता त्यागेर सकारात्मक चिन्तन विकास गरेर मुलुक बनाउने अभिभारामा सबैले सहकार्य गर्नु जरुरी छ।' उनले लामो सङ्घर्ष र बलिदानीबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको भन्दै योभन्दा प्रभावकारी व्यवस्था नेपालमा आउन नसक्ने विचार राखे।
सङ्घीयता, गणतन्त्रका बारेमा प्रश्न उठे पनि सङ्घीयतालाई सुदृढ बनाएर जानुको विकल्प नभएको मुख्यमन्त्री पाण्डेले बताए। उनले भने, 'यो व्यवस्थामा सबैलाई अवसर छ। म विधिबाट चुनिएर मुख्यमन्त्री बनेको छु। जनताले विश्वास गरेकाले यहाँसम्म आएको हुँ। तसर्थ युवालाई आउनुस् प्रभावकारी काम गरेर आफ्नो ठाउँ, देश बनाउने सहकार्य गरौँ।'
मुख्यमन्त्री पाण्डेले स्वदेश र विदेशमा बसेर नेपाल र नेपालीलाई गाली गर्दैमा मुलुक नबन्ने धारणा राखे। युवाहरूमा सकारात्मक सोचको विकासका लागि आत्मविश्वास जगाएर स्वदेशमा केही गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गराउन उनले जेसिजलाई आग्रह गरे।
प्रकाशित: १५ भाद्र २०८२ ०७:२२ आइतबार





