राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकमा गृहमन्त्री सुदन गुरुङको विवादित सेयरका बिषयमा कुनै छलफल नभएको बताएका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता झाले तीन दिन अगावै कार्यसूची तय हुने भएकाले उक्त विषयले बैठकमा प्रवेश नपाएको जानकारी दिए।
प्रवक्ता झाले पार्टीभित्र छलफल र निर्णयका लागि निश्चित प्रक्रिया हुने भन्दै हतारमा कुनै निष्कर्षमा नपुगिने बताए।
‘प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय गरी चारवटा तह हुन्छन्,’ उनले भने, ‘गृहमन्त्रीको विषयमा आज कुनै प्रस्तावित एजेन्डा थिएन, त्यसैले यसमा कुनै निर्णय भएन।’
सञ्चारकर्मीले पूर्वमन्त्री दीपक कुमार शाहलाई तत्काल पदमुक्त गरिएको र गृहमन्त्रीको हकमा किन ढिलाइ भएको भनी प्रश्न उठाएपछि झाले नेतृत्वको अधिकार र समयको बचाउ गरे।
उनले भने ‘पारदर्शी हुनु भनेको नाङ्गिनु होइन, हरेक अभिव्यक्तिका लागि सही समय कुर्नुपर्छ।’
प्रवक्ता झाले रास्वपाले पाएको जनमत र विश्वासलाई संस्थागत गर्न पार्टी गम्भीर रहेको सुनाए।
उनले गृहमन्त्रीको विषयमा बाहिर आएका कुराहरूबारे पार्टी नेतृत्व र सचिवालय जानकार रहेको तर अहिले नै निष्कर्षमा पुग्ने बेला नभएको जिकिर गरे।
बैठकले पार्टीको महाधिवेशन र आगामी निर्वाचन केन्द्रित रणनीतिमा बढी जोड दिएको भन्दै झाले थपे, ‘पार्टीलाई अझै संगठित र सैद्धान्तिक रूपमा बलियो बनाउन हामी केन्द्रित छौं, कुनै पनि प्रश्नलाई नजरअन्दाज गरिएको छैन।’
प्रकाशित: ७ वैशाख २०८३ १९:१३ सोमबार





