१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मौनता साध्नु मृ'त्युलाई अँगाल्नु जस्तै हो, प्रश्न गर्नु विद्रोह : गगन

<br>

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र प्रश्न गर्नु विद्रोह भएको भन्दै अहिलेको अवस्थामा मौन बस्नु मृत्युलाई अँगाल्नु सरह हुने बताएका छन्।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरू पार्टी फुटाउन नभई पार्टीलाई रूपान्तरण गर्न र जिवन्त राख्नका लागि प्रश्न गरिरहेको स्पष्ट पारे।

महामन्त्री थापाले भने, ‘प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो। कहिलेकाहीँ मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो। हामीले प्रश्न गर्‍यौँ, यो प्रश्न हाम्रो व्यक्तिगत स्वार्थका लागि गरेका होइनौँ।’

उनले कांग्रेसको इतिहास स्मरण गराउँदै गणेशमान सिंह, सुवर्ण शमशेर, बीपी कोइराला र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूले आफ्नो व्यक्तिगत सुखसयल र पारिवारिक पृष्ठभूमि त्यागेर प्रश्न गरेको हुनाले नै पार्टी स्थापना र लोकतन्त्र सम्भव भएको तर्क गरे।

‘उहाँहरूलाई खान र लाउन पुग्थ्यो, तर उहाँहरूले आफ्नो लागि होइन, समाज र नागरिकका लागि प्रश्न गर्नुभयो,’ थापाले भने, ‘अहिले हामी उज्यालोमा छौं तर नागरिक किन अँध्यारोमा छन् भनेर सोध्नु हाम्रो दायित्व हो।’

महामन्त्री थापाले भृकुटीमण्डपको भेलालाई लिएर पार्टी विभाजन गर्न खोजेको भन्ने आरोपको खण्डन गरे। उनले चुनौती दिँदै भने, ‘यो हलभित्र दुई-तीन दिनसम्म चलेको बहसमा कसैले एउटा मात्रै कुरा पार्टी फुटाउने वा कमजोर बनाउने गरी बोलेको छ भने मलाई भन्दियोस्। हामी सिङ्गो कांग्रेस बनेर यहाँ छलफल गरिरहेका छौँ।’

प्रकाशित: २९ पुस २०८२ १९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App