नेपाली कांग्रेसले विगतका निर्वाचनहरूमा गर्दै आएको सत्ताकेन्द्रित चुनावी गठबन्धनको नीति पूर्ण रूपमा त्याग्ने घोषणा गरेको छ।
अब हुने सबै तहका निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने र त्यसका लागि चुनावी परिणाम प्रतिकूल आए पनि सामना गर्न तयार रहेको पार्टीले जनाएको छ।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुरा गर्दै नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री डा. डिला संग्रौलाले गठबन्धन संस्कृतिका कारण पार्टीको मौलिक पहिचान नै संकटमा परेकाले यो निर्णय लिइएको बताइन्।
‘हामीले गठबन्धन भन्ने कुरा अब पूर्ण रूपमा छोडिसक्यौं,’ महामन्त्री संग्रौलाले भनिन्, ‘हामी जित्नका लागि चुनाव लड्छौं तर हार्न परे पनि तयार छौं, अब कसैसँग गठबन्धन गर्दैनौं। अरू पार्टीको चुनाव चिह्नमा कांग्रेसका कार्यकर्ताले भोट हाल्नुपर्ने अवस्थाको अब अन्त्य भएको छ।’
‘गठबन्धनले कांग्रेसलाई सत्ताकेन्द्रित बनायो, जनता टाढिए’
विगतमा तत्कालीन माओवादी केन्द्र (हाल नेकपा) र पछिल्लो समय नेकपा एमालेसँग भएका सत्ता तथा चुनावी सहकार्यले राजनीतिलाई विकृत बनाएको उनले स्वीकार गरिन्।
संसदीय व्यवस्थामा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नै एकै ठाउँमा उभिँदा लोकतन्त्र कमजोर बनेको र त्यसैको आक्रोश नागरिक तहमा पोखिएको उनको विश्लेषण थियो।
‘गठबन्धनको फेर समात्दा राजनीति जनताकेन्द्रित हुन सकेन, खाली सत्ता जोगाउने र गिराउने खेलमा सीमित भयो,’ उनले भनिन्, ‘त्यसकै कारण जनतामा निराशा छायो र जेन-जी पुस्ता सडकमा आयो। अब हामी आफ्नै खुट्टामा उभिएर जनताको विश्वास जित्ने बाटोमा फर्किएका छौं।’
कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने भएपछि पार्टीले देशभर आफ्नै तागतमा जित निकाल्न नयाँ कार्ययोजना अघि सारेको छ। महामन्त्री संग्रौलाका अनुसार अब निर्वाचनमा उम्मेदवार छनोट गर्दा केन्द्रबाट टिकट तोकेर पठाउने परिपाटी अन्त्य गरिनेछ।
‘स्थानीय तहमा उम्मेदवार चयन गर्न हामी आन्तरिक निर्वाचनको विधि लागू गर्दैछौं,’ उनले भनिन्, ‘पार्टीको निर्वाचन ब्युरोले ग्रासरुटमै अध्ययन गरिरहेको छ। जनतामाझ जो लोकप्रिय छ, उसैले टिकट पाउँछ। कमजोर मान्छेलाई गठबन्धनको वैशाखी टेकाएर जिताउने दिन अब सकिए।’
प्रतिस्पर्धी हौं, दुस्मन होइनौं
महामन्त्री संग्रौलाले अन्य राजनीतिक दलहरूसँग राष्ट्रिय मुद्दामा संवाद र सहकार्य खुला रहे पनि चुनावी मैदानमा भने सिधा प्रतिस्पर्धा हुने प्रस्ट पारिन्।
‘हामी अन्य दलका प्रतिस्पर्धी हौं, दुस्मन होइनौं,’ उनले भनिन्, ‘संसद् र राष्ट्रिय संकटका बेला सहकार्य हुनसक्छ, तर चुनावमा जनताले कांग्रेसलाई रुख चिह्नमै भोट हाल्न पाउनुपर्छ। कांग्रेसलाई कांग्रेस नै बनाएर जोगाउनु हाम्रो प्रमुख दायित्व हो।’
नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा १५ औं महाधिवेशनले तय गरेको मुख्य नीति नै पार्टीलाई आफ्नै बलमा पुनर्जागृत गराउनु रहेको बताउँदै उनले यस अभियानमा देशभरका कार्यकर्ता एकजुट भइसकेको दाबी गरिन्।
प्रकाशित: २८ आश्विन २०८३ १९:४८ बुधबार





-600x400.jpg)