नेकपा (एमाले)का नेता महेश बस्नेतले भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपीशर्मा ओलीसँगको भेटमा खुट्टा चढाएर बसेको दृश्य सम्मानजनक नभएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन आएका मिस्रीको प्रधानमन्त्रीसँगको भेटको तस्बिर सार्वजनिक भए लगत्तै बस्नेतले यस्तो टिप्पणी गरेका हुन्।
‘भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालका प्रधानमन्त्रीसँग भेटमा खुट्टा चढाएर बसेको तस्बिरले सामाजिक सञ्जालमा आज धेरै नै चर्चा पाएको छ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भङ्गिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ।’
उनले व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउने उल्लेख गरे । ‘कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउँछ भन्ने कुरा नबिर्सौँ,’ बस्नेतले लेखेका छन्।
प्रकाशित: २ भाद्र २०८२ ०८:१३ सोमबार





