नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र नेतृत्व चयन र भावी दिशाबारे चर्किएको बहसप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। बस्नेतले ‘केपी ओलीलाई लिएर चुनावमा जान सकिँदैन’ भन्ने वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यको भनाइ उद्धृत गर्दै कसको नेतृत्वमा जान सकिन्छ त भन्दै व्यंगात्मक प्रश्न उठाएका छन्।
‘आगामी निर्वाचनमा केपी शर्मा ओलीको व्यक्तित्व पार्टीका लागि उपयुक्त हो कि अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, युवराज ज्ञवाली, ईश्वर पोखरेल वा योगेश भट्टराईको अनुहार लिएर अघि बढ्दा राम्रो होला?’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनका अनुसार, आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा हुने एमाले महाधिवेशनले यस विषयमा छिनोफानो गर्नेछ। बस्नेतले लेखेका छन्, ‘सो अधिवेशनमा आफ्नो वैकल्पिक क्षमता देखाउन नसक्ने, खाली नेतृत्वको विरोध गर्ने पंक्तिका नेताहरूको वास्तविक हैसियत अब देखिनेछ।’
उनले पार्टीभित्रका केही नेताहरूले बाहिर प्रभावकारी देखिए पनि भित्रभित्र गुटबन्दी र अवसरवादी भूमिका खेलिरहेको सङ्केत गरेका छन्। बस्नेतका शब्दमा, ‘अब परिस्थिति प्रतिकूल बनेको बेला यही मौका हो भनेर अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गर्ने, पार्टी बदनाम गराउने र आफ्ना लाभका प्राप्तितर्फ लाग्ने कराउन थालेका हुन् कि?’
अन्त्यमा उनले लेखेका छन्, ‘आम कार्यकर्ताले विवेकपूर्ण फैसला गर्ने समय आएको छ।’
प्रकाशित: १३ कार्तिक २०८२ १०:१५ बिहीबार





