२४ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प

अवस्था बदलिए अमेरिकी सेना तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य दृष्टिले लगभग समाप्त भइसकेको दाबी गरेका छन् । उनले तत्कालका लागि अमेरिकाले अहिलेको अवस्था कायम राख्ने नीति लिएको बताउँदै परिस्थिति परिवर्तन भए अमेरिकी सेना पुनः कारबाहीका लागि तयार रहेको चेतावनीसमेत दिएका छन् ।

सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व लगभग समाप्त पारिएको दाबी गरे । यद्यपि, इरानको परमाणु कार्यक्रम लामो समयसम्म अघि बढ्न नसक्ने अवस्था सुनिश्चित गर्न अमेरिका अझै प्रयासरत रहेको उनले बताए ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटवार्तापछि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । भेटलगत्तै उनी अचानक ह्वाइट हाउसको ब्रिफिङ कक्षमा पुगेर पत्रकारहरूसँग कुराकानी गरेका थिए ।

ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हट्न सक्ने सङ्केत पनि दिएका छन् । आइतबार सीएनएनसँगको टेलिफोन अन्तर्वार्तामा उनले इरानसँगको वार्तामा प्रगति भएमा र तेहरानले बलियो सम्झौतामा हस्ताक्षर गरेमा पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम हुने बताएका थिए ।

इरानमाथि अमेरिकी सेनाका दुई आक्रमण

यसैबीच, अमेरिकी सेनाले पछिल्लो एक सातामा इरानमाथि कम्तीमा दुईपटक सीमित सैन्य आक्रमण गरेको छ । ती आक्रमणमा इरानको हवाई प्रतिरक्षा प्रणालीलाई निसाना बनाइएको थियो ।

त्यस्तै, शनिबार अमेरिकी सेनाले एक व्यापारिक जहाजमाथि गोली प्रहार गरी निष्क्रिय बनाएको छ । उक्त जहाजले इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अमेरिकी दाबी छ ।

युद्धको असर अमेरिकी निर्वाचनमा

गत साता सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा बहुमत गुमाएको पृष्ठभूमिमा उनले इरान युद्धबारे पछिल्लो धारणा सार्वजनिक गरेका हुन् ।

निर्वाचनका क्रममा इरानसँगको युद्धप्रति अमेरिकी मतदाताको असन्तुष्टि पनि प्रमुख मुद्दा बनेको थियो । आठ महिनादेखि जारी युद्धका कारण इन्धनको मूल्य बढेको छ । त्यसको असर अमेरिकी अर्थतन्त्रसँगै विश्वका विभिन्न देशको आर्थिक गतिविधिमा परेको छ ।

अमेरिकाले युद्ध अन्त्य गरे दुई दिनमै होर्मुज खोल्ने इरानको प्रस्ताव

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सबै मोर्चामा युद्ध अन्त्य गरे दुई दिनभित्रै होर्मुज जलमार्ग खुला गरिदिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अमेरिकाले पहिले इरानका सर्त स्वीकार गर्नुपर्ने बताएका छन् । अन्यथा इरान जवाफी आक्रमणका लागि तयार रहेको उनको चेतावनी छ ।

अराघचीले इरान हरेक प्रकारको परिस्थितिको सामना गर्न सक्षम रहेको दाबी गरेका छन् । इरानले आफ्नो सैन्य क्षमता मजबुत बनाएको, सेनाका कमजोरी सुधार गरेको र नयाँ हतियारको परीक्षणसमेत गरिसकेको उल्लेख गर्दै उनले इरानी सेना पूर्ण सतर्क अवस्थामा रहेको बताएका छन् ।

होर्मुज जलमार्ग विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । यस मार्गबाट विश्वका विभिन्न देशमा ठूलो परिमाणमा कच्चा तेल तथा प्राकृतिक ग्यास आपूर्ति हुने गर्छ । यो जलमार्गमा जहाजको आवागमन अवरुद्ध भए विश्व बजारमा तेल तथा ग्यासको आपूर्ति प्रभावित हुनुका साथै मूल्यसमेत बढ्ने जोखिम रहन्छ ।

अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको थियो युद्ध

इरानले परमाणु हतियार निर्माण गरिरहेको आरोप लगाउँदै अमेरिका र इजरायलले गत २८ फेब्रुअरीमा संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले पनि प्रत्याक्रमण गरेपछि दुई पक्षबीच युद्ध चर्किएको थियो ।

अप्रिलको सुरुवातमा दुवै पक्षबीच युद्धविराम भए पनि त्यो लामो समय टिक्न सकेन । जुन महिनामा पुनः युद्धविराम र युद्ध अन्त्य गर्ने विषयमा सहमति भएको थियो । तर, अगस्टमा उक्त सहमतिसमेत भङ्ग भएपछि क्षेत्रीय तनाव पुनः बढेको थियो ।

अहिले युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक वार्ता जारी छ । वार्तामा इरानको परमाणु कार्यक्रम, होर्मुज जलमार्ग खुला गर्ने तथा समग्र युद्ध अन्त्य गर्ने विषय प्रमुख मुद्दाका रूपमा रहेका छन् ।

प्रकाशित: २४ कार्तिक २०८३ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App