४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई महेशले सोधे- निर्वाचन भएन भने संसद् पुनः स्थापना हुन्छ कि के हुन्छ ?

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले तोकेको मितिमा निर्वाचन नभए विघटित संसद्को भविष्य के हुन्छ भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई प्रश्न गरेका छन्।

सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय बैठकमा बोल्दै नेता बस्नेतले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन हुनेमा आफूहरू विश्वस्त नरहेको बताउँदै यस्तो प्रश्न गरेका हुन्।

बैठकमा प्रधानमन्त्रीकै अगाडि बस्नेतले भने, ‘फागुन २१ गते चुनाव हुन्छ भन्ने कुरामा हामी चाहिँ विश्वस्त छैनौँ। अब फागुन २१ मा चुनाव भएन र सर्‍यो भने संसद् पुनःस्थापना हुन्छ कि के हुन्छ ?’

उनले संसद् नभएको अवस्था ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थातर्फ इङ्गित गर्दै भने, ‘६ महिनाभन्दा बढी त ग्याप हामीले देखेका छैनौं। यदि चुनाव भएन भने के हुन्छ ?’

बस्नेतले सरकारले लोकतान्त्रिक पद्धति मिचेर फटाफट अध्यादेश ल्याइरहेको भन्दै आक्रोश पोखे। उनले दलहरूको चुनाव चिन्हको मर्यादाक्रम तोक्ने विषयमा सरकारले ल्याएको अध्यादेशप्रति एमालेको गम्भीर विमति रहेको सुनाए।

‘तपाईंले लोकतान्त्रिक पद्धति मिचेर फटाफट अध्यादेश ल्याइरहनुभएको छ। हिजो ल्याउनुभएको अध्यादेशमाथि हाम्रो गम्भीर आपत्ति छ,’ बस्नेतले भने, ‘दलले विगतमा प्राप्त गरेको मतको आधारमा चिन्हको मर्यादाक्रम हुनुपर्नेमा गोला प्रथाद्वारा तोक्ने कुरा ल्याइएको छ रे ! त्यो हो भने अर्को एउटा गम्भीर असन्तुष्टि हामीमाथि तपाईंले रोपिइसक्नु भयो।’

बस्नेतले आफूहरूमाथि राज्य पक्षबाटै दमन भएको गुनासो समेत गरे। ५–७ जिल्लामा जाँदा आफूले ढुङ्गा खाएको र त्यसमा सत्ता पक्षले खुसी मनाएको भन्दै उनले राजनीतिक संस्कारमाथि प्रश्न उठाएका थिए।

प्रकाशित: ७ पुस २०८२ १९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App