राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश जोगाउने जिम्मा अब जनताको हातमा आएको बताएका छन्।
मंगलबार नवलपरासीको सुस्तामा आयोजित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्।
लामिछानेले आसन्न निर्वाचन सामान्य चुनाव मात्र नभई महाभारत युद्ध सरह भएको टिप्पणी गरे। उनले भने, ‘यो महाभारत हो। यहाँ कौरव र पाण्डव छुट्याउने जिम्मा तपाईंहरूको हो। कौरव तिर उभिने हो कि पाण्डव तिर, यसको फैसला जनताले गर्नुपर्छ।’
लामिछानेले देशमा अस्थिरता अन्त्य गर्न र विकासको गति लिन पाँच वर्ष टिक्ने स्थायी सरकार आवश्यक रहेको औंल्याए। उनले भने, ‘एउटै सरकार एकैपटक ५ वर्षका लागि स्थायी भएर देशका सारा समस्या डम्पिङ साइटमा खसाल्न चाहन्छौं।’
उनले स्विच थिचेर नभई राम्रा कानुन बनाएर र खराब कानुन फेरेर मात्र देश बन्ने बताए।
सम्बोधनका क्रममा लामिछानेले देशको दुर्दशाप्रति चिन्ता व्यक्त गरे। ‘आफ्ना छोराछोरीलाई रुँदै रुँदै एयरपोर्टबाट लखेटिएको छ, सामान्य जागिरका लागि विदेशिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘घर-घरमा पीडा छ, सिटामोल नपाएर र उपचार नपाएर नागरिक तड्पिनुपर्ने अवस्था छ। यो बेथितिको हिसाबकिताब अब मतपत्रमार्फत मिलाउनुपर्छ।’
पुराना राजनीतिक दलहरूप्रति लक्षित गर्दै लामिछानेले विश्वविद्यालयदेखि अस्पतालसम्म रहेको राजनीतिक भागबन्डा र सिन्डिकेट अन्त्य हुनुपर्ने बताए। ‘हामी मागी खाने होइन, गरी खाने देश हौं। यसका लागि विधिको शासन र कानुनी राज चाहिन्छ,’ उनले थपे।
प्रकाशित: २७ माघ २०८२ १६:०२ मंगलबार





