१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मदनको विचारबाट मुलुक समृद्ध बनाउन सकिन्छ : भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा रही मुलुक र नागरिकको सेवामा समर्पित हुने बताएकी छन्।

आज यहाँ पत्रकार भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले आफूले जननेता मदन भण्डारीबाट एमालेको सदस्यता प्राप्त गरी शपथ लिएको उल्लेख गर्दै पार्टीको निर्णयअनुसार राष्ट्रपतिबाट जिम्मेवारी पूरा गरी पुन: एमालेमा फर्किएको बताइन्।

‘म राजनीति गरेरै राष्ट्रपति पदमा निर्वाचित भएकी हुँ र बाँकी जीवन पनि राजनीतिमा समर्पित गर्नेछु,’ उनले भनिन्, ‘मलाई कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति छैन, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम लेखिसकेकी छु।’

पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नभएको पनि बताइन्। एमालेको हालै सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) प्रति एमालेका नेता, कार्यकर्ता र जनसङ्गठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज पार्टीले सफलता हासिल गरेको बताइन्।

‘पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रो हो। जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर मुलुकलाई समृद्ध बनाउन सकिन्छ,’ उनले भनिन्। रासस

प्रकाशित: ९ श्रावण २०८२ १८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App