१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

मधेसवादी मोर्चाको जनजागरण अभियान: भूमि विधेयकविरुद्ध ‘निर्मम’

मधेसवादी दलहरूको संघीय लोकतान्त्रिक मोर्चाले बुधबारबाट जनजागरण अभियान सुरु गरेको छ। सप्तरीको राजविराजबाट ‘जनजागरण अभियान’ सुरु गरेको हो। 

सप्तरी जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा बाेल्दा सबैजसाे मधेसवादी नेताहरू भूमि विधेयकविरूद्ध निर्मम सुनिए।

 कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेसीको जन्म नै संघर्ष गर्नका लागि भएको बताए। ‘हामी मधेसीको जन्म संघर्ष गर्नकै लागि भएका हो, यसर्थ हामी संघर्षबाट पछि हट्दैनौं,’ ठाकुरले भने। उनले भूमि ऐनले मधेसी दलहरूलाई एकजुट भएर लड्न बाध्य बनाएको पनि बताए। उनले भने, ‘भूमि ऐन मधेसीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र स्वरूप आएको छ। अब मधेसीलाई कि त लडेर अधिकार लिने, कि सकिने दुई वटा विकल्प छ।’  

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको उब्जाउ भूमिलाई शासक वर्गले चरण चरणमा मधेसी जनताबाट खोसेको दाबी गरे। ‘पहिलो चरणमा  बक्सिस, बिर्ता र जागिरको रूपमा वितरण गरे। दोस्रो चरणमा हदबन्दीका नाममा खोसे,’ यादवले भने, ‘तेस्रो चरणमा पुनर्वास कम्पनीको नाममा विदेशीहरूलाई वन विनाश गरेर जमिन बाँडे। चौथो चरणमा कानुन बनाएर सुकुम्वासीको नाममा कार्यकर्तालाई जग्गा वितरण गरे।’ अहिले आएर पाँचौँ चरणमा भूमि ऐन ल्याएर मधेसलाई मरुभूमि बनाउन खोजिएको उनले दाबी गरे। ‘मधेसलाई आन्तरिक उपनिवेश बनाइ अझै शासन गरिएको छ। आफ्नै शासन सत्ताको लागि अब सबै मिलेर संघर्ष गर्नुपर्छ,’ उनले भने। 

यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धन लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास गरेको टिप्पणी गरे। ‘भूमि ऐन पास हुँदा हाम्रै मोर्चाका घटक दलको संसद्मा पोजिसन के रह्यो ? प्रस्ट्याउनुपर्छ,’ उनले भने। सबै मधेसवादी पार्टी एक भएर मात्रै नपुग्ने बताउँदै उनले आदिवासी जनजातिसहित सबै उत्पीडित समुदाय मिलेर अधिकारका लागि लड्नुपर्ने बताए। 

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राज्यसत्ताका लागि मधेस चाहिने तर मधेसी नचाहिने अवस्था रहेको बताए। उनले भूमि विधेयक भूमिहीन र सुकुम्वासीका लागि नभई भू माफियाका लागि ल्याएको दाबी गरे। 

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले अहिलेको गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको टिप्पणी गरे। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी  चौधरीले नश्लीय शासनबाट देशले मुक्ति खोजेको बताइन्। 

मोर्चाले पहिलो चरणमा देशका आठ ठाउँमा जनजागरण अभियान सञ्चालन गर्ने जनाएको छ। जसअनुसार अबको कार्यक्रम २० गते जनकपुरधाममा हुनेछ। 

प्रकाशित: १८ भाद्र २०८२ १८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App