सर्वोच्च अदालतको फैसला कुर्दै सात दलका सांसदसहित कार्याकर्ताहरू मधेश प्रदेश भवनको मूल ढोकामा धर्ना बसेका छन्। मंगलबार बिहानैदेखि सात दलका सांसदसहित कार्याकर्ताहरूले शान्तिपूर्ण धर्ना दिएका हुन्।
प्रदेश सरकार गठनको विरुद्धमा सर्वोच्चमा रिट परेको छ। यसअघि दुई दिनदेखि सर्दै आएको उक्त रिटमाथि आज सुनुवाइ हुँदैछ।
मधेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी असंवैधानिक तरिकाले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै सात दल कार्तिक २४ गतेदेखि आन्दोलित बनेका छन्।
प्रदेश प्रमुखले असंवैधानिक बाटोबाट यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात दलका ७४ सांसदले उनको नियुक्ति खारेजीको दाबी गर्दै सर्वोच्चमा रिट दिइएको छ।
यसअघि बाटो अवरुद्ध गरी धर्ना दिँदै आएका सांसदहरू आजको धर्नाको स्वरुप परिवर्तन गरेको छ। बाटो खुल्ला राखेर मधेश भवनको मूल ढोकामा बसेका छन्।
नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित कार्यकर्ताहरूले धर्नामा बसेका हुन्।
प्रकाशित: २ मंसिर २०८२ १०:२४ मंगलबार





