नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गराएको ‘पदअनुकूल आचरण’ प्रस्तावमाथि आज छलफल हुने भएको छ।
सभामुख मण्डलले नेकपा एमालेको निर्देशनमा सभा सञ्चालन गरेको भन्दै सात दलले गत कात्तिक २७ गते मधेस प्रदेशसभामा ६४ सांसदको समर्थनमा उनीविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए।
सभामुखविरुद्ध पदअनुकूल आचरणको प्रस्ताव दर्ता भएपछि एक साताभित्र प्रदेशसभामा छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था अनुसार उपसभामुख बबिता कुमारी राउत इसरकी निर्देशनमा बैठक बोलाइएको हो।
दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा सहभागिताका लागि प्रदेशसभा सचिवालयले सांसदलाई एसएमएसमार्फत सूचना पठाएको छ।
हिजो मंगलबार सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले प्रदेशसभा बैठक बोलाउन उपसभामुख इसरलाई ज्ञापनपत्र बुझाएका थिए। सभामुख पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता भएपछि छलफल हुने र दुई तिहाइ सांसदको समर्थनमा पारित हुने कानुनी व्यवस्था रहेको छ।
मधेस प्रदेशसभामा कुल १०७ सदस्य रहेको छ। जसमा तीन जना सांसद निलम्बित छन्। हाल १०४ सदस्य कायम रहेको छ।
दुई तिहाइका लागि ७१ सांसदको आवश्यकता छ। सभामुखविरुद्ध प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ७४ सांसद रहेका छन्।
प्रकाशित: ३ मंसिर २०८२ ०९:५९ बुधबार





