१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कटेजको शपथले मधेस अशान्त

असंवैधानिक नियुक्ति खारेजको माग राखी सात दल शान्तिपूर्ण धर्नामा

कटेजबाट मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मंगलबार पदभार ग्रहण गरी बुधबार बिहान काठमाडौं गएका छन्। मंगलबार जनकपुरधामस्थित मधेस प्रदेश सरकारको मुख्यालय मधेस भवनपछाडिको द्वार (गेट) बाट प्रवेश गरी पदभार ग्रहण गरेका मुख्यमन्त्री यादव बुधबार बिहान बुद्ध एयरको विमान चढेर काठमाडौं गएका हुन्।

मुख्यमन्त्री जनकपुरधामबाट काठमाडौं गएपछि सात दलको आन्दोलनको स्वरूप फेरिएको छ। सोमबारदेखि तनावपूर्ण बनेको मधेस भवन र आसपासको क्षेत्र बुधबारबाट शान्त बनेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री नेकपा एमाले नेता सरोजकुमार यादव असंवैधानिक नियुक्ति खारेजको माग राखी सात दलका सांसदसहित नेता–कार्यकर्ताले मधेस भवनअगाडि शान्तिपूर्ण धर्ना जारी राखेका छन्। मधेस सरकारको मुख्यालय रहेको मधेस भवनको दुई नम्बर गेटमा बुधबार सात दलले सडकमा शान्तिपूर्ण धर्ना सुरु गरेका हुन्। यो धर्ना तत्काललाई आइतबारसम्मका लागि तय गरिएको छ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहितका कार्यकर्ता मुख्यमन्त्री नियुक्तिविरुद्ध धर्नामा बसेका छन्।

यता मंगलबार साँझ शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै सातै दलले विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेका थिए। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने प्रहरीउपर कारबाहीको माग गरेका छन्। जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले अदालतको अन्तरिम आदेशले सकारात्मक सन्देश दिएको बताए।

७४ सांसदको हस्ताक्षरसहित परेको रिटमा अवैधानिक तरिकाले नियुक्त भएको मुख्यमन्त्री बर्खास्त हुनुपर्ने माग गरेका छन्, जसको सुनुवाइ आइतबार पूर्ण इजलासमा हुने जनाइएको छ। कानुनी र सडकबाट अधिकार प्राप्त गर्ने उद्देश्यले प्रदर्शन गरिरहेको आन्दोलनरत सात दलका नेताहरूले बताए।

नवनियुक्त मुख्यमन्त्री यादव काठमाडौं प्रस्थान गर्नुअघि मंगलबारको प्रदर्शनमा घाइते भएकाहरूलाई भेट्न प्रादेशिक अस्पताल पुगेका थिए, तर घाइतेहरू हिजै राती घर फर्किसकेका थिए।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र उनको मन्त्रीपरिषद्का सदस्यलाई सार्वजनिक रूपमा बहिष्कार गर्न सात दलले विज्ञप्तिमार्फत अपिल गरेका छन्।

मंगलबार साँझ प्रहरी र प्रदर्शनकारीबिच मधेस भवनअगाडि भएको झडपमा प्रहरीको लाठीचार्जबाट पत्रकारसहित १० जना प्रदर्शनकारी घाइते भएका थिए।

कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले मधेस प्रदेशको मुख्यमन्त्री विवादमा ७४ सांसदले दर्ता गरेको रिटलाई कात्तिक ३० मा सुनुवाइ गर्ने आदेश दिएको छ। त्यसैगरी सर्वोच्चले कात्तिक २३ गते एमाले सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेस गर्न पनि भनेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले निवेदकले माग गरेको अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षको छलफल आवश्यक भएको भन्दै कात्तिक ३० का लागि इजलासले पेसी तोकेको हो।

नेकपा एमालेबाहेकका ७४ सांसदहरू यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। यही विवादमा मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो। सर्वोच्चले मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राईसहितका नेता सर्वोच्च पुगेका हुन्।

मधेस प्रदेशमा एक सय सात सांसद छन्, जसमध्ये तीन सांसद निलम्बित छन्। एमालेका सांसद दीपेन्द्र ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाहा, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन्। हाल प्रदेशसभामा १०४ जना सांसद कायम छन्। सरकार बनाउन ५३ सांसद बहुमत संख्या हो। एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन्।

प्रदेश प्रमुखले एमाले नेता सरोजकुमार यादवलाई सोमबार बिहान बर्दिबासको पानस कटेजमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीको शपथ गराएकी थिइन्। त्यसको राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भएसँगै विवाद अदालतमा पनि पुगेको हो। प्रदेश प्रमुख भण्डारीलाई सरकारले बर्खास्त गरी सुरेन्द्र कर्णलाई नियुक्त गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८२ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App