२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

धमाधम एकीकृत हुँदै मधेस केन्द्रित दल

जेनजी आन्दोलनलाई संस्थागत गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र साह (बालेन) लाई भित्र्याएपछि मधेसको क्षेत्रीय राजनीति गरेका दलहरू दबाबमा परेका छन्।

दबाबकै कारण उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक जनता पार्टी नेपाल (लोसपा नेपाल) चार वर्षपछि एक ठाउँमा उभिएका छन्। साथै जसपा उपाध्यक्ष रेणु यादव, प्रदीप यादव पनि बहुमत सदस्यसहित घर फर्केका छन्। यो एकतासँगै डेढ दशकभन्दा बढी समयदेखि मधेसकेन्द्रित राजनीति गरिरहेका यी दलहरूले क्षेत्र र समुदायगत दायराबाट माथि उठेको सन्देश प्रवाह भएको छ।

सत्ता राजनीति, व्यक्तिगत टकरावलगायत कारणले छुट्टाछुट्टै दलमा रहेका मधेसकेन्द्रित दलहरू यसअघि संविधान निर्माण प्रक्रियामा पनि यसरी नै जुटेका थिए। अप्ठेरो परिस्थितिमा उनीहरू एक ठाउँमा जुट्ने गरेका छन्। खासगरी पछिल्लो समय राष्ट्रिय दलका लागि राखिएको ‘थ्रेसहोल्ड’को कानुनी व्यवस्था उनीहरूबिच एकताका लागि उत्प्रेरक बनेको थियो।

मधेस आन्दोलनमार्फत संघीयताको मुद्दालाई संस्थागत गराएका मधेस केन्द्रित दलहरूले पहिलो संविधानसभा निर्वाचनमा उल्लेख्य सफलता प्राप्त गरेका थिए। त्यतिबेला उनीहरूले प्रत्यक्षतर्फ मात्रै ४२ सिट जितेका थिए तर त्यसपछि नेताहरू राजनीतिक मुद्दाभन्दा पनि सत्ता राजनीति र व्यक्तिगत लाभमा केन्द्रित हुँदा पार्टी विभाजन हुँदै गयो। दोस्रो संविधानसभा निर्वाचनमा दर्जनभन्दा बढी मधेसकेन्द्रित दल चुनावमा भिड्दा प्रत्यक्षतर्फ १२ सिटमा मात्र जित हात पर्‍यो। चुनावमा खुम्चिएपछि माग सुनुवाइका लागि उठाइने आवाज बलियो भएन। त्यसपछि मधेसकेन्द्रित दलहरूले नाकाबन्दीको सामना गर्दै तेस्रो मधेस विद्रोह गर्नुपर्ने स्थिति आयो। उनीहरू एउटै मुद्दाको सेरोफेरोमा डेढ दशक बढी अलमलिए।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि मुलुकको राजनीतिलाई फेरि ध्रुवीकरणतर्फ धकेलिदिएको छ। त्यो हो पुराना दल भर्सेस नयाँ दल। कारण जेनजी विद्रोह बाहिरबाट जस्तो देखिए पनि अन्तरवस्तु भने दुइटा छन्, सुशासन र पुस्तान्तरण। कारण, राज्यको स्रोतसाधनमाथि भएको दोहन (भ्रष्टाचार) र राज्यसत्ता। राजनीतिक विश्लेषक तुलानारायण साहको विश्लेषणमा अहिले भइरहेको वा हुने राजनीतिक ध्रुवीकरण जेनजी विद्रोहकै परिणाम हो। यो देशभर देखिँदै छ, देखिनेछ। यसको प्रभावबाट मधेसको राजनीति पनि अछुतो रहन सक्दैन। कारण, मधेसमा पनि पुराना दल–नेता भर्सेस नयाँ दल–नेताको भाष्य निर्माण भएको छ।

मधेस केन्द्रित दलहरूबिचको ध्रुवीकरणलाई पनि जेनजी विद्रोहकै परिणामका रूपमा लिन्छन्, विश्लेषक साह। यसको फाइदा निश्चित रूपमा मधेसकेन्द्रित दललाई नै हुने उनको बझाइ छ। यो ‘एकाकार’ स्वैच्छिक मिलन नभएर ‘अस्तित्व रक्षा’ भएको उनको विश्लेषण छ। यद्यपि यसले मधेसमा सकारात्मक सन्देश सञ्चार हुनेछ। यसको राजनीतिक र चुनावी फाइदा मधेस केन्द्रित दललाई पुग्ने उनको विश्लेषण छ।

चार वर्षपछि एकाकार
चार वर्षपछि ठाकुर नेतृत्वको लोसपा नेपाल र यादव नेतृत्वको जसपा नेपाल पुनः एकाकार भएका छन्। जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसहित पदाधिकारीको काठमाडौंमा बसेको बैठकबाट दुवै पार्टीबिच आइतबार एकीकरणको निर्णय भएको हो। वर्तमान राजनीतिक अवस्थाको मूल्यांकन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गर्दै दुवै पार्टीबिच एकीकरण गर्ने निर्णय गरिएको जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

लोसपासँग एकीकरण भएको भोलिपल्टै सोमबार जसपा नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी (जसपा) बिच एकीकरण भएको छ। जसपाका तर्फबाट उपाध्यक्ष रेणु यादवले एकताको नेतृत्व गरेकी हुन्। जसपाका अध्यक्ष अशोक राई भने जसपा नेपालसँग एकताका लागि तयार भइनसके पनि उपाध्यक्ष यादवले बहुमत केन्द्रीय सदस्यसहित एकीकरण गरेकी हुन्। यसअघि जसपाबाट राजेन्द्र श्रेष्ठ अलग भएर नेपाली कम्युनिस्ट पार्टीसँग एकतामा गइसकेका छन्। बाँकी रहेका केन्द्रीय सदस्य लिएर उपाध्यक्ष यादवले जसपा नेपालसँग एकता गरेकी हुन्।

एकीकरण नौलो होइन
हुन त यी दलहरूले चार वर्षअघि पनि यही अवस्था दर्साएर मध्यरातमा पार्टी एकीकरणको घोषणा गरेका थिए। २०७७ वैशाख १० गते मध्यरातमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबिच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल  (जसपा) बनेको थियो। तत्कालीन समाजवादी पार्टीलाई विभाजनबाट रोक्न हतारहतार नयाँ पार्टी गठन गरिएको थियो। त्यतिबेला मध्यरातमा दुई पार्टीबिच एकीकरण नभएको भए समाजवादी पार्टी विभाजन हुने निश्चित थियो। फुटबाट जोगाउन हतारहतार एकीकरण गरेर बनाइएको जसपा नेपाल डेढ वर्षमै फुट्यो।

२०७८ भदौ १ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले जसपा नेपालबाट विभाजित भई लोसपा नेपाल गठन गरेका थिए। त्यसको एक वर्षपछि २०७९ सालमा डा. बाबुराम भट्टराई, महिन्द्र यादवलगायत नेताहरू जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए। त्यसपछि त फुटको शृंखला नै चल्यो। २०७८ भदौ ३० गते जारी भएको राजनीतिक दलसम्बन्धी नियमावलीमा टेकेर २०८१ वैशाख २३ गते अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भयो। अशोक राई, इस्तियाक राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतोलगायत नेताहरू जसपा नेपालबाट जसपातिर लागे।

उपेन्द्रका लागि पार्टी फुट्नु र जुट्नु नयाँ घटना भने होइन। उनको जीवनमा पटकपटक पार्टी फुटेका छन्, कैयौंपटक एकीकरण पनि भएका छन्। २०५४ सालमा मधेसी जनअधिकार फोरम गठन भएको थियो। त्यतिबेला फोरम पार्टीका रूपमा भने गठन भएको थिएन। फोरम दर्ता हुँदा संस्थाका रूपमा थियो। २०६३ सालमा निर्वाचन आयोगमा दर्ता भएपछि फोरमले पार्टीको मान्यता पाएको थियो। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन फोरम संविधानसभामा ५२ सिट ल्याएर चौथो ठुलो पार्टी बनेको थियो। त्यसपछि फोरम फुट्ने र जुट्ने क्रम निरन्तर चलिरह्यो। पहिलो पटक फोरमलाई विजय गच्छदार, शरतसिंह भण्डारीलगायत नेताहरूले फुटाए। त्यसपछि राजकिशोर यादवले फुटाए। फोरमलाई जतिपटक फुटाए पनि उपेन्द्रले अर्को नयाँ पार्टीसँग एकीकरण गरेर मधेसको शक्ति केन्द्रमा जमिरहे।

सत्तासँगको संघर्षमा ‘एक’, सत्तासमीप पुग्दा ‘फुट’
मधेससँग घनिष्ठ नाता–सम्बन्ध भन्न रुचाउने दलहरू सत्तासँगको संघर्षकालमा ऐक्यबद्ध हुने तर सत्ताको समीप पर्नासाथ विभाजित हुने राजनीति पुरानै हो। संगठित भएको डेढ वर्षमै जसपा नेपाल अग्रगामी सत्ता र प्रतिगामी सत्तालाई सरकारमा अड्याउन विभाजित भए। जसपाभित्र परेको चिराले नेताको मात्र नभई मधेसको मन पनि फाटेको थियो। मधेसले चाहेको बलियो, कसिलो मधेसी शक्ति हो।

‘उनीहरू मिल्दा मधेसको मतको वजन पनि बढ्छ,’ राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘२०७२ सालको निर्वाचनमा सहकार्य गर्दा मधेसको मतको भार संघीय समाजवादी र राजपा पक्षमा परेको थियो। जसका कारण यी दुई दल कोर मधेस भनेर चिनिने मधेस प्रदेश सरकार बनाउन सफल भएका थिए। मतकै मागअनुसार पछि दुवै दल एकीकरण हुन पनि बाध्य भएका थिए।’

जसपा फुटेपछि मधेसको मत पनि बाँडिने देखियो। जसको उदाहरण २०७९ सालको निर्वाचन परिणाम हो। मण्डल भन्छन्, ‘२०६४ सालदेखि २०७२ र २०७९ सालसम्मको निर्वाचनमा मधेसी दललाई प्राप्त मतको मूल्यांकन गर्दा मधेसी दल जुट्दा र फुट्दाको फाइदा बेफाइदा प्रस्ट हुन्छ। पहिलो संविधानसभामा मधेसी एकढिक्का हुँदा मधेसभरि जितको झन्डा फहराएको मधेसी जनअधिकार फोरम चिरा पर्दा दोस्रो संविधानसभा निर्वाचनमा अखडामै नराम्ररी पछारिएको थियो।

मधेसी दलमा फुटको शृंखला
मधेसी शक्ति भनेर लोकप्रिय बनेको जसपाले आफूलाई राष्ट्रिय पार्टी भने पनि यसको जनाधार र तागत मधेस नै हो। मधेसी शक्ति संगठित हुँदा मधेसको मनमा भरोसाको पालुवा पलाउँछ। शक्ति विभाजित हुँदा मधेसको मन फाट्छ। मधेसमा रंगभेदको अन्त्य गर्न २००८ सालमा कुलानन्द झा नेतृत्वको तराई कांग्रेस २०१५ सालको पहिलो संसदीय निर्वाचनपछि विभाजित भयो। त्यसपछि २०४० सालमा हर्क गुरुङ नेतृत्वको ‘बसाइसराइँ अध्ययन कार्यसमूह’को प्रतिवेदनको विरोध गर्ने गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् गठन गरे। बहुदल आए लगत्तै २०४७ वैशाखमा सिंहले नै सद्भावना पार्टी गठन गरे। पहिलो आम निर्वाचनमै सिंह नेतृत्वको सद्भावना पार्टीले संघीयताको नारा बुलन्द गर्‍यो। पछि सद्भावना पनि विभाजनको सिकार भएर टुक्रा टुक्रामा छरियो। 

मधेसको मुद्दा बोकेर नेता बन्ने सत्तामा पुगेपछि मुद्दा बिसाउने क्रम चलिरह्यो। जसका कारण मधेसी जनमा आक्रोश र असन्तुष्टिको आकार बढ्दै थियो। जसलाई क्यास गर्न उपेन्द्र यादवले मधेसी जनअधिकार फोरम खोले। संघीयता र रंगभेदको अन्त्यको मुद्दा बोकेका यादवले २०६३ माघ १ मा जारी अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि माइतीघरमा संविधानको प्रतिलिपि जलाए। उनी पक्राउ परेपछि मधेसमा आन्दोलन उठ्यो। आन्दोलन व्यापक बनेपछि मधेसी जनअधिकार फोरम, उपेन्द्र यादव र मधेसको पहिचान स्थापित भयो। मधेसी जनअधिकार फोरम दलका रूपमा २०६४ वैशाखमा निर्वाचन आयोगमा दर्ता भयो। २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा फोरमले ४२ सिट जित्यो।

महन्थ ठाकुरको नेतृत्वमा हृदयेश त्रिपाठी, महेन्द्र राय यादव, रामचन्द्र राय, वृशेषचन्द्र लाल, रामचन्द्र कुशवाहा, अनिश अन्सारीलगायत नेताहरूले २०६४ पुस १३ गते तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेर संविधानसभा निर्वाचनमा भाग लिए। यो दलले ११ सिट जितेको थियो। संविधानसभाको पहिलो निर्वाचनपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा बलियो उपस्थित दर्ज गरेको फोरममा दरार पर्न धेरै समय लागेन। भाग्यनाथ गुप्ताले २०६४ भदौ १५ गते फोरम फुटाएर ‘मधेसी जनअधिकार फोरम मधेस’ गठन गरे। त्यसपछि त फोरममा पहिरो जान सुरु भयो। अमर यादवले २०६५ चैत ७ गते विभाजन गरेर मधेस तराई फोरम गठन गरे।

दाहालपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारमा जाने विषयमा विवाद भएपछि संसदीय दलका नेता विजयकुमार गच्छदारले २८ सभासद्को साथ लिएर २०६६ जेठमा पार्टी फुटाए। उनले अर्का नेता शरतसिंह भण्डारीका साथमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे। फोरम फुटाएका गच्छदारको फोरम लोकतान्त्रिक पार्टी पनि धेरै समय सग्लो रहन सकेन। भण्डारीले २०६९ असारमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका थिए। फोरम लोकतान्त्रिक विभाजन गरी सञ्जयकुमार साहले २०६७ पुस ६ गत्ते मधेस क्रान्ति फोरम गठन गरेका थिए। २०६८ माघ ६ गते उपेन्द्र झाले नागरिक रक्षा दल गठन गरेका थिए।

२०६८ जेठ ९ गते जयप्रकाश गुप्ताले फोरमका राजकिशोर यादवलगायत १३ सभासद्सहित मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन गरे। बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेकै बखत गुप्ता सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई जेल पुगेपछि कार्यवाहक अध्यक्ष राजकिशोर यादवले पार्टी नेतृत्व गरे। फोरम गणतान्त्रिकका नन्दकुमार दत्तले २०६९ पुस ११ गते उही नामको अर्को पार्टी गठन गरे। फुटको पहिरो फोरममा मात्र सीमित रहेन। ठाकुर नेतृत्वको तमलोपा पनि २०६७ पुस १६ बाट फुट्न सुरु भयो। तमोलोपाका तत्कालीन महामन्त्री महेन्द्र राय यादवले २०६७ पुस १६ मा तमलोपा–नेपाल गठन गरे।

महतो नेतृत्वको सद्भावनाका नेता रामनरेश राय यादवले पनि पार्टी विभाजन गरे। उनले २०६८ माघमा ‘राष्ट्रिय सद्भावना पार्टी’ गठन गरे। रामनरेशको राष्ट्रिय सद्भावना पार्टी र तमलोपा विभाजन गरी बनेको महेन्द्र राय यादव नेतृत्वको ‘तमलोपा–नेपाल’बिच २०७० भदौ १९ मा एकीकरण भएर तराई मधेस सद्भावना नेपाल बन्यो र अध्यक्ष बने महेन्द्र राय यादव। २०७४ वैशाखमा ६ वटा मधेस केन्द्रित दलबिच एकता भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो। राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), शरतसिंह भण्डारीको राष्ट्रिय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबिच एकीकरण भएर राजपा बनेको थियो।

२०७६ वैशाखमा यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबिच एकता भएर समाजवादी पार्टी बन्यो। २०७७ वैशाख १० गते समाजवादी पार्टी र राजपाबिच एकता भएर जनता समाजवादी पार्टी (जसपा) बन्यो। बलियो मधेसी शक्तिका रूपमा जसपा बनेसँग मधेसीका मुहारमा खुसी भरिएको थियो। 

‘मधेसको शक्ति कमजोर हुँदा केवल मधेसी दल वा नेतालाई मात्र होइन मधेस मुद्दालाई समेत कमजोर बनाउँछ। साथ हुँदामा जति शक्ति हुन्छ, अलग हुँदा त्यति नै कमजोर,’ जनकपुरका प्राध्यापक भोगेन्द्र झा भन्छन्, ‘मधेसमा उनीहरूले आफ्नो तागत आफ्नै कारण कमजोर बनाउन पुगेका छन्। मधेसी जनता मधेसी शक्तिलाई एक ठाउँ उभिएको अर्थात् एकाकार भएको देख्न रुचाउँछन्।’ अहिले मधेस केन्द्रित दलहरू एकाकार भएको देख्दा मधेसको निराश मनमा आशा र उत्साहको सञ्चार भएको मधेस मामिलाका जानकारहरू बताउँछन्। तर यो एकतालाई टिकाइराख्न सके मधेस केन्द्रित दल शक्तिशाली हुन्छन् नै, मधेसीजनको भरोसा पनि कायम रहन मद्दत पुग्छ।

प्रकाशित: १५ पुस २०८२ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App