नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रैबाट नेपाली कांग्रेसलाई शत्रु बनाउन प्रयास भइरहेको आशय व्यक्त गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो डर व्यक्त गरेका हुन्।
‘कसै कसैलाई के लागेको छ भने कसरी कांग्रेसलाई शत्रु बनाउने? अनि हाम्रो पार्टीबाट टाढा बनाइदिने,’ अध्यक्ष नेपालले भने। उनले यो अभिव्यक्ति पार्टीका सम्मानित नेता झलनाथ खनाललक्षित दिएको बुझिन्छ। सम्मानित नेता खनाल आफ्ना अभिव्यक्तिमा बेलाबेला कांग्रेसमाथि खनिने गर्छन्। उनको झुकाव कम्युनिस्ट ध्रुवीकरणतिर केन्द्रित सुनिन्छ।
यस्तै नेकपा माओवादी केन्द्रसँगको दोस्ती पनि तोड्ने प्रयास भइरहेको अध्यक्ष नेपालले बताए। उनले भने, ‘कसरी माओवादीसँग दोस्ती तोडिदिने? हाम्रो पार्टीलाई ठिङ्ग एक्लो उभ्याइदिने र यो पार्टीलाई कमजोर बनाउने सोच, खतम बनाउने सोच। यस्ता सोचलाई स्वीकार गर्न सकिँदैन।’
नेकपा एससामू सबैभन्दा समस्या नेकपा एमालेको नेतृत्व रहेको पनि उनले बताए। ‘हाम्रो पार्टीको सबैभन्दा ठुलो समस्या को भएको छ? एमालेको नेतृत्व भएको छ, केपी ओली। यथार्थ त्यही हो,’ उनले भने, ‘एउटा कम्युनिस्ट पार्टीका लागि समस्या, कम्युनिस्ट पार्टीको नेता आफै भएको छ।’
प्रकाशित: १३ भाद्र २०८२ २०:२६ शुक्रबार



-600x400.jpg)

