२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

हारबारे सञ्चारकर्मीको प्रश्नबाट पन्छिए माधव नेपाल, भने, ‘सबैको त्यस्तै भयो’

नेपाल कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर-१ मा भोगेको पराजयबारे बोल्न अस्वीकार गरेका छन्।

बुधबार सञ्चारकर्मीले हारको कारणबारे सोधेको प्रश्नमा उनी बोल्न चाहेनन्। सञ्चारकर्मीको निरन्तरको प्रश्नमा उनले हतार भएको भन्दै प्रश्नबाट पन्छिन खोजे।

सञ्चारकर्मीले ‘यो पटक तपाईं पराजित हुनुभयो, खासमा किन हार्नुभयो ?’ भनी प्रश्न गर्दा उनले ‘पछि, पछि, अहिले जान हतार छ’ भन्दै तर्किन खोजेका थिए।

त्यसपछि सञ्चारकर्मीले ‘यसपटक लज्जास्पद हार भयो नि ?’ भन्दै थप प्रश्न गरेपछि भने उनले संक्षिप्त प्रतिक्रिया दिए, ‘त्यस्तै भयो, सबैको त्यस्तै भयो।’

निर्वाचन परिणामप्रति सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नको भने कुनै जवाफ नदिई उनी गाडीमा चढेर बाहिरिए।

प्रतिनिधि सभा सदस्यका लागि रौतहट-१ बाट उम्मेदवार बनेका नेपाल यस पटक फराकिलो मतान्तरसहित चौथो स्थानमा सीमित भएका छन्।

अन्तिम मतपरिणामअनुसार उनले जम्मा ७ हजार ६ सय ६९ मत मात्र प्राप्त गरेका छन्। यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशकुमार चौधरी २८ हजार ९ सय ४६ मत ल्याई विजयी भएका थिए।

प्रकाशित: २७ फाल्गुन २०८२ १८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App