२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

मदन–आश्रितको ३३ औँ स्मृति दिवस : अझै रहस्यमा दासढुङ्गा घटना

नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग  प्रमुख जीवराज आश्रितको आज ३३ औँ स्मृति दिवस देशव्यापी रूपमा मनाइएको छ।

 वि सं २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा दुवैको निधन भएको थियो । घटना भएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि यसको ठोस छानबीन हुन  सकेको छैन।  

दासढुङ्गा दुर्घटनालाई तत्कालीन समयदेखि नै नेपाली जनता र नेकपा एमालेले साधारण दुर्घटना मात्र नमानी गम्भीर राजनीतिक षड्यन्त्र र हत्याको संज्ञा दिँदै आएको छ। घटनापछि तत्कालीन सरकारद्वारा गठित त्रिलोकप्रताप राणा आयोग, एमालेद्वारा गठित केपी शर्मा ओली आयोग र नागरिकस्तरको पद्मरत्न तुलाधार आयोगले समेत घटनालाई शङ्कास्पद र षड्यन्त्रमूलक मान्दै आएको पाइन्छ।  

तर तत्कालिन समयमा एमालेका शीर्ष नेताहरू मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल सहित  केपी शर्मा ओली समेत देशको प्रधानमन्त्री भए । तर उक्त घटनाको सत्यतथ्य बाहिर आउन सकेन । साथै मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी दुई पटकसम्म देशको राष्ट्रपति हुदाँपनि उक्त घटनामा चासो व्यक्त नगरेको जनगुनासो हुदै आएको छ। लामो समय सत्ता र शक्तिको बागडोर सम्हाल्दा समेत घटनाको वास्तविक तथ्य बाहिर ल्याउन निष्पक्ष र उच्चस्तरीय खोजबिन हुन नसकेको भन्दै एमाले नेतृत्वले समेत आलोचना खेपिरहनु परेको छ।    

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला मदन भण्डारीले नेपालको माटो सुहाउँदो प्रतिस्पर्धात्मक र लोकतान्त्रिक कम्युनिष्ट मान्यताका रूपमा जनताको बहुदलीय जनवाद (जबज)  प्रतिपादन गरेका थिए। 

आज मदन भण्डारी र जीवराज आश्रितको आज ३३ औँ स्मृति दिवसमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र  लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै  सान्दर्भिक रहेको बताइन्। 

‘जबजले लोकतान्त्रिक  माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै एमालेलाई जनताको भरोसायोग्य शक्ति बनाएको हो। वर्तमान सांगठानिक चुनौतीहरूको सामना गर्न सुदृढ एकता, नेता(कार्यकर्ताको सक्रियता र त्याग अपरिहार्य छ।’ उनले भनिन्।  

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई आफ्नो नेता, साथी र युगद्रष्टा सहयोद्धाका रूपमा स्मरण गरेका छन् । दुर्घटनाको ३३ वर्ष पुगेसगैं उनले घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइ र अभावहरू झन् गहिरो हुने बताए ।  ‘जबज कुनै एक सिजनको  लोकप्रियता आर्जन गर्ने औजार नभई यथार्थको धरातलमा उभिएको विचार हो, जसलाई हामीले ुसमृद्ध नेपाल, सुखी नेपालीुको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढाएका छौँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

एमाले सचिव महेश बस्नेतले दासढुङ्गाको त्यो रहस्यमय घटनाले देशले दुई असाधारण योद्धा गुमाएको बताएका छन् । तर उनीहरूले छोडेको विचार र राजनीतिक मार्गदर्शन आज पनि प्रत्येक कार्यकर्ताको मनमा जीवितै रहेको उल्लेख गरेका छन्।    

घटनाको ३३ वर्ष बितिसक्दा पनि नेपाली राजनीतिमा मदन भण्डारीको छवि र उनले अघि सारेको विचार उत्तिकै शक्तिशाली र मार्गनिर्देशक बनेको छ। 

प्रकाशित: ३ जेष्ठ २०८३ १८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App