११ कार्तिक २०८३ बुधबार
image/svg+xml
समाज

नेपाल ट्रस्ट: सम्पत्ति धेरै, उपलब्धि शून्य

नेपाल ट्रस्टले मुलुकभरि छरिएर रहेको २१ हजार ६३३ रोपनीभन्दा बढी जग्गा, दुई अर्ब १८ करोडभन्दा बढी नगद रुपैयाँ, एक लाख ८० हजार ११८ अमेरिकी डलर, ५५ हजार ६२२ ब्रिटिस पाउन्ड र कुल १२ लाख ९९ हजार सात ३५ कित्ता सेयर तथा विभिन्न ठाउँमा रहेका ऐतिहासिक एवं ठुला व्यापारिक भवनबाट आर्जन भएको सम्पत्ति कस्तो क्षेत्रमा उपयोग गरिरहेको छ भन्ने विषयमा सवत्र्र चासो छ। यसबारे जिज्ञासा राख्दा नेपाल ट्रस्टको कार्यालयले कानुनले दिएको प्रावधानअनुसार थप आम्दानी हुने क्षेत्रमा आफ्नो सम्पत्तिको उचित प्रयोग र उपयोग गरिएको बताउँछ।

नेपाल ट्रस्ट ऐनअनुसार ट्रस्टको स्वामित्वमा रहेका चलअचल सम्पत्ति र त्यसबाट प्राप्त आम्दानी आयआर्जन हुने कार्यमा उपयोग गरिएको छ। यस्तो सम्पत्ति निष्क्रिय नराखिएको दाबी गर्दै ट्रस्टले कानुनअनुसार आम्दानी बढ्ने र ट्रस्टको उद्देश्य पूरा हुने क्षेत्रमा नै उपयोग गर्दै आएको नेपाल ट्रस्टको कार्यालयका निमित्त कार्यकारी सचिव सुमन घिमिरेले जानकारी दिए। उनले अहिले ट्रस्टको आम्दानी र कानुनले दिएको अधिकार प्रयोग गरी थप आर्जन हुने उचित क्षेत्रमा सम्पत्ति उपयोग भइरहेको बताए।

घिमिरेले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म विभिन्न शीर्षकमा करिब दुई अर्ब १८ करोडभन्दा बढी नगद बैंकमा राखिएको र ब्याज आम्दानीको ५० प्रतिशतजति रकम कार्यालयकै दैनिक प्रशासन सञ्चालन, विभिन्न ऐतिहासिक तथा पर्यटकीय सम्पदा संरक्षण, मर्मतसम्भार र उचित व्यवस्थापनमा खर्च हुने र अन्य आम्दानी रकम थप आर्जनको उचित क्षेत्रमा उपयोग गरिँदै आएको जानकारी गराए।

ट्रस्टको कार्यालयले गत वर्ष सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आफ्नो स्वामित्वमा देशभरि विभिन्न १२ जिल्लामा कुल २१ हजार ६३३ रोपनी १५ आना जग्गाको लालपुर्जा रहेको उल्लेख छ। अझै थप जग्गा खोजी तथा प्राप्तिको काम जारी रहेको ट्रस्टको भनाइ छ।

ट्रस्ट कार्यालयका प्रवक्ता रमेशबहादुर बस्नेतले हाल महोत्तरी जिल्लाको जलेश्वरमा फेला परेको थप ६ रोपनी ‘ऐश्वर्य विद्याश्रम’को जग्गा पनि नेपाल ट्रस्टकै नाममा ल्याउने प्रक्रिया जारी रहेको जानकारी गराए। उनले पनि ट्रस्टका नाममा जम्मा भएको नगद रुपैयाँ बैंकमा राखिएको र ब्याज आम्दानीको ५० प्रतिशत रकम विभिन्न  ऐतिहासिक तथा पर्यटकीय सम्पदाको रेखदेख, मर्मत–सम्भार र जैविक विविधता संरक्षणमामा खर्च हुने गरेको बताए।

नेपाल ट्रस्टका नाममा रहेको ऐतिहासिक एवं पर्यटकीय सम्पदा पोखराका हिमा र रत्न मन्दिर संग्रहालय, चितवनको दियालो बंगला, हेटौंडाको कान्ति–ईश्वरी गृहको उचित संरक्षण र जैविक विविधता संरक्षणमा टेवा पुर्‍याउने काम भएको जानकारी गराउँदै प्रवक्ता बस्नेतले नयाँ रणनीति बनाएर चालु आवमै कानुनी सुधारको काम गर्ने लक्ष्य लिइएको बताए। उनले ट्रस्टका नाममा रहेको सम्पत्ति पारदर्शी ढंगबाट प्रयोग भइरहेको बताए।

हाल नेपाल ट्रस्टको चल सम्पत्तितर्फ दुई अर्ब १८ करोड रुपैयाँ नगद मौज्दात विभिन्न बैंकमा छ। यस्तै एक लाख ८० हजार एक सय १८ अमेरिकी डलर, ५५ हजार ६ सय २२ ब्रिटिस पाउन्ड पनि बैंकमा सुरक्षित छ।

हाल विभिन्न बैंक र कम्पनीको गरी कुल १२ लाख ९९ हजार सात सय ३५ कित्ता सेयर पनि सुरक्षित अवस्थामा रहेको जानकारी दिँदै ट्रस्टको कार्यालयले देशकै सबैभन्दा महँगो ठाउँ काठमाडौंको नारायणहिटी राजदरबारअगाडि दरबारमार्गको भव्य व्यापारिक भवन ‘दरबार मल’, गोकर्ण फरेस्ट रिर्सोट लगायत विभिन्न ठाउँको घरबहाल, लिज, होटल, व्यापारिक भवन र अन्य स्रोतबाट प्राप्त नियमित आम्दानीको उचित उपयोग भएको जनाएको छ।

ट्रस्टको नियमित आम्दानीको स्रोत विभिन्न ठाउँमा रहेका घर तथा जग्गा भाडा, लिज शुल्क, बैंक ब्याज, सेयरबाट प्राप्त लाभांश र अन्य सेवाशुल्कबाट आउने नगद तथा बैंक  मौज्दात नै हुन्।

आव २०८२/८३ को असार मसान्तसम्म विभिन्न बैंकहरूमा जम्मा गरिएको रकमको बैंक ब्याज, जग्गा तथा व्यापारिक भवन तथा घरभाडा/लिजभाडा सेयरबाट प्राप्त लाभांश, प्रवेश शुल्क लगायतबाट करिब २२ करोड ९८ लाख ११ हजार ६८५ रुपैयाँ ट्रस्टको कोषमा जम्मा भएको जनाइएको छ।

यसैगरी अहिलेसम्म प्राप्त घरजग्गा सम्पत्ति सबै कानुनी प्रक्रिया पुर्‍याएर भाडामा दिइएको ट्रस्टले बताएको छ। त्यसमध्ये दरबारमार्गस्थित एक रोपनी १४ आनामा नौ वर्षअघि बनेको भव्य व्यापारिक ‘दरबार महल’लाई भने बुट मोडलमा वार्षिक साढे चार करोड भाडामा दिइएको छ।

निर्माण अवधि तीन वर्षसमेत गरी ३० वर्षका लागि २०७४ जेठ १४ मा नेपाल ट्रस्टको कार्यालय र थामसेर्कु ट्रेकिङ कम्पनीबिच सम्झौता भएकोमा सो जग्गामा निर्मित भवनको थप तलाको भाडाबारे विवाद भई अहिले मध्यस्थताको प्रक्रियामा रहेको ट्रस्टले जनाएको छ।

यसबाहेक काठमाडौंको गोकर्ण राजनिकुञ्जको जग्गा गोकर्ण फरेस्ट रिसोर्ट प्रालि (साबिकको एलएम सुभिर ब्रदर्स) लाई लिजमा दिइएको छ। कमलादीस्थित काठमाडौं प्लाजाको भवन कन्सेप्ट डेभलपर्स प्रालि, लाजिम्पाटको जग्गा नेपाल प्रहरीको सिआइबी, टेकुको जग्गा बिजनेस पार्क टाउन डेभलपर्स प्रालिले भाडामा लिएका छन्।

यसैगरी ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्स र कालिमाटीको जग्गा थामसेर्कु प्रालिले भाडामा लिएका छन्। छोटो अवधिका लागि भाडामा दिइएको सम्पत्तिमा सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, रेडक्रस मार्ग, गरिबी निवारण कोष, वैदेशिक रोजगार विभाग ताहाचल, निजामती आवासीय विद्यालय चुलीवन छन्।

ट्रस्ट कार्यालयका अनुसार हाल विभिन्न बैंकमा नगद तथा विदेशी मुद्रा मौज्दात छ। नबिल बैंक, होटल डेल अन्नपूर्ण र राष्ट्रिय वाणिज्य बैंकलगायत संस्थामा करिब १३ लाख बढी कित्ता सेयर रहेको उल्लेख गरिएको छ। ट्रस्टले यसबाहेक अन्य ठाउँमा आफ्ना जग्गा तथा भवनबाट भाडा (लिज) आम्दानी पनि प्राप्त गर्दै आएको छ।

२०६२/६३ को जनआन्दोलनपछि गणतन्त्रको घोषणासँगै दरबार हत्याकाण्डमा मारिएका तत्कालीन राजा वीरेन्द्र शाह र राजपरिवारका सदस्यमा नाममा रहेको जग्गा र सम्पत्ति व्यवस्थापनका लागि सरकारले नेपाल ट्रस्ट स्थापना गरेको हो।

 सरकारले नेपाल ट्रस्ट ऐन २०६४ जारी गरी राजपरिवारका सदस्यका नाममा देशभर रहेका जग्गा खोजी गरेको थियो। ट्रस्टको कार्यालयले अहिलेसम्म राजपरिवारका सदस्यका नाममा रहेको २१ हजार ६३९ रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ।

सरकारले व्यक्तिका नाममा दर्ता गरिएका काठमाडौंका विभिन्न स्थानको जग्गा ट्रस्टमै फिर्ता ल्याउन निकै प्रयास गनुपरेको थियो। सरकारले हडपिएका जग्गा खरिद बिक्रीमा रोक लगाएर ट्रस्टका नाममा ल्याएको थियो। ट्रस्टको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्यमा संलग्नलाई कारबाही गर्ने प्रक्रिया पनि अघि बढाइएको थियो।

प्रकाशित: ११ कार्तिक २०८३ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App