कतै देउडाको गुन्जन, कतै पुर्बेली भाका। कतै तामाङ सेलोको तालमा पाइला ठोक्किन्थे, कतै काठे भजनको लयमा टाउका हल्लिन्थे। दृश्य कुनै सांस्कृतिक महोत्सवजस्तो देखिन्थ्यो। तर महोत्सवको केन्द्रमा संस्कृति मात्र थिएन, राजनीति पनि थियो। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको माहोलसँगै मंगलबार भृकुटीमण्डप परिसर सिंगो नेपालजस्तै देखिएको थियो। मत फरकफरक व्यक्ति र समूहलाई मागे पनि हिमाल, पहाड र तराईका भाका, पहिरन र अनुहारहरू एउटै ठाउँमा मिसिएका थिए।
कोही पश्चिमका टोपीमा थिए, कोही लिम्बू ढाकामा। कोही मधेसी धोती–कुर्तामा सजिएका थिए त कोही तामाङ पहिरनमा। भाषा फरक थियो, भेष फरक थियो तर अनुहारमा देखिने उत्साह र गर्व एउटै थियो। पार्टीका मान्छेलाई उनीहरू के भन्थे, थाहा थिएन तर बाहिरका जसले प्रश्न सोधे पनि उनीहरूका साझा उत्तर हुन्थ्यो - म एमालेको महाधिवेशनमा आएको प्रतिनिधि हुँ। यिनै हँसिला अनुहारमध्येकी एक थिइन्, हुम्ला सिमकोटबाट आएकी महाधिवेशन प्रतिनिधि प्रतिमा लामा। उनलाई पार्टीभित्रको गुट–उपगुटले खासै छोएको छैन। उनले आफ्नो पार्टीले मुलुकको भलो गरोस् भन्ने चाहना आफूमा रहेको सुनाइन्। ‘पार्टीको नयाँ नेतृत्वले मुलुकलाई राम्रो बाटोमा लगोस् भन्ने चाहना छ,’ उनले भनिन्, ‘त्यही आशा बोकेर काठमाडौंसम्म मत हाल्न आएकी छु।’ आन्तरिक हिसाबले फरक मत बोके पनि समग्रमा सबै एमाले रहेको उनले बताइन्।
उनीजस्तै यहाँ पार्टीभित्रका फरकफरक धारका समर्थक थिए। कोही अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली पक्षमा थिए, कोही वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षमा। कोही महासचिवका उम्मेदवार शंकर पोखरेलको प्रचारमा जुटेका थिए, कोही सुरेन्द्र पाण्डेको पक्षमा खुलेर बोलिरहेका थिए।
नारा पनि फरकफरक सुनिए– ‘केपी ओली: जिन्दावाद’, ‘ईश्वर पोखरेल: जिन्दावाद’, ‘शंकर पोखरेल: अगाडि बढ’, ‘सुरेन्द्र पाण्डे: हाम्रा नेता’ तर यी सबै नाराभन्दा माथि एउटा नारा थियो, जसले ती सबैलाई एउटै धागोमा बाँधेको थियो। त्यो थियो– ‘नेकपा एमाले : जिन्दावाद।’
‘गुट–उपगुट भन्दा पनि हामी एमाले हौं,’ बाराबाट आएका प्रतिनिधि देवनारायण चौधरीले भने, ‘जसले जिते पनि एमालेले जित्छ।’
प्रदेशसभा सदस्यसमेत रहेका चौधरी अब एमालेले आफूलाई थप परिमार्जित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले भनेजस्तै उनको पार्टीले फरक धारबिच पनि एउटा साझा भावना बनाइरहेको थियो। प्रतिस्पर्धा थियो, मतभेद थियो तर वैरभाव थिएन। आलोचना थियो तर घृणा थिएन। त्यो दृश्यले एउटा संकेत दिइरहेको थियो - पार्टीभित्रको प्रतिस्पर्धा पार्टी विरोध होइन।
प्रतिस्पर्धिको पनि तारिफ
महाधिवेशन स्थलमा एउटा रोचक कुरा देखिन्थ्यो -केवल आफ्ना उम्मेदवारको मात्र तारिफ होइन, कतिपय ठाउँमा विपक्षी उम्मेदवारको पनि खुलेर प्रशंसा भइरहेको थियो। तराईबाट आएका केही कुरा गर्दै थिए -‘हामी फलानो पक्षका हौं तर महेश बस्नेतले पार्टीका लागी राम्रो काम गरेका हुन्।’
राजनीतिमा प्रायः ‘कुरा काट्ने’ संस्कार बढी देखिन्छ। तर यहाँ कतिपय प्रतिनिधि विपक्षी धारका नेताको काम, क्षमता र व्यवहारको यसरी प्रशंसा गरिरहेका थिए। यसले महाधिवेशनलाई केवल सत्ता–हिस्साको लडाइँ गर्ने मात्र होइन, मूल्यांकन र बहसको थलो पनि बनाइदिएको थियो।
प्रचार सामग्रीले भरिएका शरीर
जिल्लाबाट आएका प्रतिनिधि हातमा ब्याग बोकेर हात जोड्दै हिँडेका देखिन्थे। उनका अघिपछि लाग्ने कार्यकर्ताहरू घाँटी, छाती र पिठ्युँ उम्मेदवारका प्रचार सामग्रीले भरिएका देखिन्थे। झोला, ब्याच, स्टिकर, स्कार्फ, सबैमा एउटै अनुहार, एउटै नारा। भोट माग्दै हिँडेको दृश्यले आम चुनावको झल्को दिन्थ्यो। अनि अर्को रमाइलो कुरा, न घाम लागेको थियो न पानी परेको तर कतिपयले छाता ओढेका थिए। वर्षाबाट बच्न होइन, चुनावी प्रचार सामग्री झुन्ड्याउन। छाताको भित्री भागमा उम्मेदवारको फोटो, बाहिर नारा। त्यो दृश्य देख्दा राजनीति र सिर्जनशीलता एकअर्कासँग कसरी मिसिन्छन् भन्ने बुझिन्थ्यो। ‘प्रचारको सामग्री बोकेर बढ्दा निकै खुसी लागेको छ,’ सिन्धुलीका महेश बखुरेलले भने, ‘हेर्नुस् न, मेरा टाउकाभरि नेताहरूका तस्बिर छन्, यी सबै एमाले हुन्।’
सडककिनारका रूखका हाँगामा समेत प्रचार सामग्री झुन्ड्याइएका थिए। त्यो देखेर कसैले हाँस्दै व्यंग्य कस्थे, ‘अब त आगामी चुनावमा कांग्रेससँग मिलेर रूखमै भोट माग्ने हो कि क्या हो?’
भोटसँगै व्यापार पनि
भृकुटीमण्डपमा राजनीति मात्र थिएन, व्यापार पनि थियो। खादा बेच्ने पसलदेखि बदाम बेच्ने ठेलासम्म लाइन लागेका थिए। कोही नेताका लागि खादा किनिरहेका थिए, कोही बदाम चपाउँदै नारा लगाइरहेका थिए। फुटपाथमा किताबका पसलहरू पनि थिए।
मार्क्सदेखि मार्क जुकरबर्गसम्मका किताब एउटै लाइनमा सजिएका थिए। जंगबहादुर राणा देखि केपी शर्मा ओलीसम्मका जीवनी र राजनीतिक पुस्तकहरू त्यहाँ भेटिन्थे। विचारधाराको विविधता त्यहाँ किताबका पानामा पनि देखिन्थ्यो। इलामको चिया र नेपालगन्जको राबडी (एक प्रकारको मिठाई) पनि एउटै ठाउँमा भेटिन्थ्यो। चिया पिउँदै नेताको भविष्यबारे बहस चल्थ्यो, नास्ता खाँदै उनीहरू पार्टी इतिहास सम्झिन्थे। भृकुटीमण्डप साँच्चै एउटा सानो नेपाल बनेको थियो।
मतदानको दिन
राष्ट्रिय महाधिवेशनमा मंगलबार मध्याह्नबाटै मतदान हुने तालिका थियो तर प्राविधिक कारणले ढिलाइ भयो। तर कार्यकर्ता तथा नेताले बोझ मानेको महसुस हुँदैनथ्यो। भोटैका लागि सही, पश्चिमको हात पूर्वको हातसँग मिल्थ्यो। उत्तरको हातले दक्षिणलाई नमस्कार गर्थ्याे। कुल दुई हजार दुई सय ६३ जना महाधिवेशन प्रतिनिधिको यो बाक्लो जमघट निकै लोभलाग्दो देखियो। उम्मेदवार र उनका समर्थक देशभरबाट आएका प्रतिनिधिसँग मत मागिरहेका थिए। कोही हात जोडेर, कोही काँध समातेर, कोही पुराना संघर्ष सम्झाएर भोट मागिरहेका थिए।
शीर्ष प्रतिस्पर्धा
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ। ओली निरन्तरताको पक्षमा छन्। अनुभवी उनी राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव र पार्टीभित्रको पकडलाई मुख्य आधार बनाउँदै छन्। पोखरेल परिवर्तन र व्यवस्थापनको भाषा बोलिरहेका छन्। संगठनात्मक सुदृढीकरण र सामूहिक नेतृत्वको कुरा उनको अजेन्डामा छ।
महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन्। दुवै अनुभवी नेता हुन्। दुवैका आफ्नै समूह र प्रभाव छन्। महासचिवको चुनावले पार्टीको भावी दिशा कस्तो हुनेछ भन्ने संकेत पनि दिनेछ। र्याली र झाँकीमा यी नै नेताहरूको तस्बिर बढी देखिने स्वाभाविक नै रह्यो।
यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन। यो एमालेभित्रको लोकतान्त्रिक अभ्यासको परीक्षा पनि हो। फरक विचार, फरक धार र फरक उम्मेदवारबिच पनि पार्टी एकताबद्ध रहन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर यहीँ खोजिँदै छ।
भृकुटीमण्डपमा देखिएको दृश्यले भने एउटा आशा जगाउँछ। प्रतिस्पर्धा हुँदाहुँदै पनि आपसी सम्मान बाँकी छ। आलोचना हुँदाहुँदै पनि पार्टीप्रतिको निष्ठा बलियो छ। यही निष्ठाले एमालेलाई यहाँसम्म ल्याएको हो।
समग्रमा मंगलबार बिहान भृकुटीमण्डपमा मधुरो घामसँगै सिंगो नेपाल मुस्कुराएको भान हुन्थ्यो। मतदानपछि विजेता को हुन्छ, त्यो परिणामले देखाउनेछ। तर भृकुटीमण्डपमा देखिएको यो दृश्य देउडा, तामाङ सेलो, भजन, नारा, किताब, चिया र बदाम यी सबैले एउटा कुरा भने पक्कै देखाइसकेको छ।
नेकपा एमाले केवल एउटा पार्टी मात्र होइन, यो नेपालका धेरै आवाज, धेरै अनुहार र धेरै सपनाको साझा मञ्च पनि हो। त्यसैले होला, पूर्वका नेता हिक्मत कार्की अरूलाई धेरै चिन्ता लिनुनपर्ने बताउँदै थिए। उनको प्रस्ट भनाइ थियो -यहाँ जित्ने पनि एमाले हार्ने पनि एमाले।
प्रकाशित: २ पुस २०८२ ०६:४१ बुधबार





