१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘लिपुलेक सम्झौता’ नेपालमाथिको गम्भीर प्रहार: लिङ्देन

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने भारत र चीनबीचको सहमति नेपालको सार्वभौमिकता माथिको ‘गम्भीर प्रहार’ भएको बताएका छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले नेपाललाई पूर्ण रूपमा उपेक्षा गरी गरिएको यस्तो निर्णय अस्वीकार्य रहेको बताए।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालका अविभाज्य अंग भएको ऐतिहासिक प्रमाण हुँदाहुँदै नेपालसँग कुनै छलफल नगरी दुई छिमेकीले गरेको सहमतिले अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादाको उल्लङ्घन गरेको उल्लेख गरे।

‘नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार हो,’ लिङ्देनले लेखेका छन्।

अध्यक्ष लिङ्देनले यस विषयमा सरकारलाई तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी उक्त सहमति खारेज गराउन माग गरे।

राष्ट्रियताको सवालमा राप्रपा सरकारको साथमा रहने स्पष्ट पार्दै उनले सबै राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गर्न समेत आग्रह गरे। ‘नेपाली भूमि र स्वाधीनतामाथि कुनै पनि प्रकारको अतिक्रमण वा उल्लङ्घन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग आग्रह गर्दछु,’ उनले भने।

प्रकाशित: ५ भाद्र २०८२ २०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App