राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा कसले चुनाव जित्ने र को प्रधानमन्त्री बन्ने भन्ने योजना विदेशी शक्तिले बनाउन थालेको टिप्पणी गरेका छन् । आइतबार विराटनगरमा राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच भएको सहमतिलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
अध्यक्ष लिङ्देनले नेपालको विषयमा निर्णय गर्ने अधिकार क्रमशः नेपाली जनताका हातबाट गुम्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरे । यस विषयमा सबै नेपाली सचेत हुन आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने, ‘सत्ता स्वार्थका लागि विदेशीको नीति अपनाउँदा नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा बढेको छ । हुँदा हुँदै अब विदेशीले आगामी निर्वाचनमा कसले जित्नुपर्छ र को प्रधानमन्त्री बन्नुपर्छ भन्ने योजनासमेत बनाइदिन थालेका छन् ।’
लिङ्देनले विदेशीको इशारामा नेपालका राजनीतिक दलहरू मिल्ने र फुट्ने गरेको आरोप लगाउँदै देशका बारेमा निर्णय गर्ने अधिकार पुनः नेपालीकै हातमा ल्याउन देशभित्रका सबै शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताए । देशलाई दीर्घकालीन द्वन्द्वतर्फ जानबाट रोक्न राजा, राजनीतिक दल र नयाँ पुस्ताबीच नवीन सम्झौता आवश्यक रहेको उनको धारणा थियो ।
‘चुनाव समस्याको समाधान होइन’
अध्यक्ष लिङ्देनले सबै विषय थाती राखेर गर्न लागिएको प्रतिनिधिसभा निर्वाचनले वर्तमान समस्याको समाधान नगर्ने स्पष्ट पारे । मध्यावधि निर्वाचनका लागि ‘जेनेजी विद्रोह’ नभएकाले यथास्थितिमा गरिने चुनावले निकास नदिने उनको भनाइ थियो ।
‘आन्दोलनका मागहरू सम्बोधन नगरी गरिने निर्वाचनले निकास दिँदैन,’ उनले भने, ‘निर्वाचनले संकटलाई केही पर धकेल्ने मात्रै हो ।’
उनले सबै पक्षबीच गोलमेच सम्मेलन आयोजना गरेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । यद्यपि, निर्वाचन भएमा राप्रपा निर्वाचनमा सहभागी हुने कुरा अध्यक्ष लिङ्देनले स्पष्ट पारे ।
प्रकाशित: १३ पुस २०८२ १६:२० आइतबार





