राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरेर आफूसँग चुनाव लड्न चुनौती दिएका छन्।
प्रधानमन्त्री ओलीले ‘राजेन्द्र लिङ्देनले झापाबाट कसरी चुनाव जित्छ हेरौँला’ भनी दिएको अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले पदभन्दा व्यवस्था परिवर्तनको लडाइँ ठूलो भएको बताए।
शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको उक्त भनाइलाई ‘धम्की’ को संज्ञा दिए।
उनले भने- ‘अस्ति प्रधानमन्त्रीले आफ्नो कार्यकर्ताहरूलाई ब्रिफिङ गर्ने बेलामा भन्नुभएछ, ‘अब त्यो राजेन्द्र लिङ्देन भन्ने मान्छे झापामा कहाँबाट जित्दो रहेछ, हामी हेरौँला।’ त्यो भनेको त धम्क्याएको कुरा होइन त ? म यहीँबाट उहाँलाई शालीनतापूर्वक के जवाफ दिन चाहन्छु भने, आउनुहोस्, हामी दुई जना मात्रै चुनाव लडौँ। संविधान संशोधन गरौँ, ८४ को चुनाव प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरेर तपाईं र म चुनाव लडेर जाऔँ। देश सिंगै एउटा निर्वाचन क्षेत्र बनाऔँ र देशभरिको जनतालाई भोट मागौँ। जनताले कसलाई भोट दिँदो रहेछ !’
अध्यक्ष लिङ्देनले आफ्नो राजनीतिक यात्रा पद प्राप्तिका लागि नभई भ्रष्ट व्यवस्था परिवर्तनका लागि भएको बताए। उनले सांसद जित्नु वा हार्नुभन्दा ठूलो कुरा आफ्नो सिद्धान्त र राजनीतिक निष्ठा भएको स्पष्ट पारे।
‘म सांसद त के, बाँकी जीवन एउटा वडाको सदस्य नभएर मर्न तयार छु, तर यो भ्रष्ट व्यवस्थाको विरुद्ध उभ्न्छु भनेर राजनीतिक यात्रा सुरु गरेको मान्छे हुँ,’ लिङ्देनले भने, ‘त्यसैले एउटा सांसद जित्नु-नजित्नुभन्दा माथि छ भन्ने कुरा उहाँले बुझ्दिनुपर्छ।’
उनले आफूलाई प्रधानमन्त्रीले झापा-३ बाट चुनाव जित्न चुनौती दिएको भए समयले मागेमा झापा-५ मा गएर पनि चुनाव लड्न तयार रहेको बताए। ‘समयले खोजेछ भने झापा ५ टाढा होइन। राजेन्द्र लिङ्देन त्यो ५ नम्बरमा गएर लड्न सक्छ,’ उनले भने।
प्रकाशित: १४ भाद्र २०८२ १९:५७ शनिबार





