प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने बताएका छन्। एमालेमा पूर्व राष्ट्रपति विधा भण्डारीको सक्रियतापछि ओलीले पार्टीलाई एकताबद्ध बनाउने अभिव्यक्ति दिएका छन्।
नेकपा (एमाले) को जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिद्ध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताउँदै स्वार्थी समूहले आफूविनाको एमाले देख्न चाहेको बताएर भण्डारीको आगमन लक्षित अभिव्यक्ति दिए।
केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै उनले पार्टीभित्र र बाहिरबाट भइहरेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे।
‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पुरा हुँदैन। एमाले साना स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान् उद्देश्य छ। यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो।’ अध्यक्ष ओलीले भने, ‘एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन। हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन। केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन।’
एमालेमा पछिल्लो पटक दुई लाइन सङ्घर्ष भइरहेको तर्फ लक्षित गरेर स्वार्थ समूहले षडयन्त्र गरेर पार्टीलाई कमजोर बनाउन खोजिएको उनको धारणा थियो।
प्रधानमन्त्री ओलीले नेपाललाई एमालेले नसके अरु कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौँ विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताए।
अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उनले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुष्प्रचार गरेको जनाए।
कार्यक्रममा सयौं युवाहरूलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका थिए।
प्रकाशित: २९ असार २०८२ १७:०१ आइतबार