नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम भुक्तानी गर्नुपर्ने बताएका छन् । सरकारले अनुदानको रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट ३५ रुपैयाँमा झारेपछि किसान राजधानी केन्द्रित आन्दोलनमा छन् ।
महामन्त्री थापाले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई भेटेर उखु किसानलाई प्रतिक्विन्टलमा ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउन सुझाव दिएका हुन। ‘अहिले तत्काल गर्नुपर्ने काम भनेको आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारको उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी नै हो,’ थापाले भने ।
चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ’उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने (गत आ.व. २०८१/८२ को समेत)’ शीर्षकमा २ अर्ब रुपैयाँ छुटाइएको बताउँदै रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान दिन थापाले मन्त्रीलाई आग्रह गरे । सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने काम गर्न नहुने बताए ।
‘किसानहरूलाई पटक–पटक सडकमा आउने अवस्था सिर्जना गर्नु हुँदैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित गर्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहु–आयामिक ढङ्गले काम गर्नुपर्छ । ’ थापाले विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर–खेतमा फर्कने वातावरण प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
प्रकाशित: १२ भाद्र २०८२ १६:०७ बिहीबार





